नवलपरासीमा जिप दुर्घटना चार जनाकाे मृत्यु, मृतक सबैकाे सनाखत

नवलपरासी, १६ मंसिर । नवलपरासीको धौवादीमा बिहीबार साँझ जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना भएकाे हाे ।

भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेकाे प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले बताए ।