सानीमा लाइफ इन्सोरेन्स कम्पनीकाे सहयोग तुलसालय आश्रमलाई

भक्तपुर, २२ मंसिर । सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ ।

सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले आफनो कम्पनीको स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभइ सातै प्रदेशमा यस किसिमको सहयोग गरिएको बताउनुभयो । आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिइने प्रमुख थापाले उल्लेख गर्नुभयो ।

तुलसालय आश्रमका सञ्चालक बिमल काफलेले सानीमा लाइफ इन्सोरेन्सको सहयोगले आफनो संस्थालाई थप ऊर्जा मिलेको बताउनुभयो । कार्यक्रममा सानीमा लाइफ इन्सोरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुश्वाहालगायतको सहभागिता थियो ।

तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गर्दै आएको छ ।