सुदूरपश्चिममा प्रदेशसभातर्फ एक सय ११ जनाको जमानत जफत

डडेलधुरा, २३ मंसिर । सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था भएकाेले सय ११ जना उम्मेदवारको जमानत जफत भएको हाे ।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक वाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् ।