शाेकमा डुब्याे जारजरकोटकाे छेडागाड, एकै वडाका आठ सहित बाह्रैजनाको मृत्यु (यसरी भएकाे थियाे घटना)

जारजरकोट, २७ मंसिर । जारजरकोटकाे छेडागाड नगरपालिकामा बिहे भाेज खाएर फर्केका १२ जनाको बोलेरो जिप दुर्घटनामा परी को मृत्यु भएका छन् । मृत्यु भएकामा एकै वडाका आठ जना परेका छन् ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको पनि उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।

कर्णाली प्रदेश २,००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट बिहे भाेज खाएर सोही नगरको वडा नं ४ को लेवातर्फ फर्किंदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

यसरी भएकाे थियाे घटना
छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली झल्कुवामा साली सम्झनाको बिहेको भोज खान आइतबार त्यहाँ पुगेका थिए । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भएपछि विवादले उग्र रूप लिए।

दुवैजनाबीच कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पुर्याइदिन आग्रह गरे ।

दीपकसँगै बिहेमा भोज खाएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो ।