नेपाली सामाजिक सञ्जालमा विश्वकप फाइनल

यस्तो खेल न पहिले भयो, न पछि हुनेछ

काठमाडौं, ४ पुस । विश्वकप फुटबलको हिजोको फाइनलमा धेरै पटक यस्तो क्षण आयो जसले दर्शकको सास रोकिदियो । खेल कतारमा भइरहेको भए पनि त्यसको उत्साहले काठमाडौंका गल्ली गल्लीहरू पनि गुञ्जायमान हुँदै थियो । फाइनल खेलको एक एक शट, एक एक फलमा नेपालका दर्शकहरू उतिकै उत्साहसाथ हुटिङ गर्दै थिए ।

समग्रमा सबैको एउटै विश्लेषण छ, हिजोको खेल ऐतिहासिक थियो । खेल सकिनेबित्तिकै सामाजिक सञ्जालमा नेपाली खेलप्रेमिहरूले राति नै त्यही प्रकृतिका स्टाटहरू लेख्न थालिसकेका थिए ।

स्वतस्फूर्तरुपमा अभिव्यक्त भएका ती स्टाटसहरू कतिपय समग्र खेलकै निष्कर्ष जस्ता थिए भने कतिपय भविष्यको विश्वकपप्रति लक्षित थिए ।

हिजोको खेल यस्तो थियो जसले विजयी टीम र त्यसका समर्थकहरूलाई खुशी त बनाएकै छ, साथै पराजित टीमलाई पनि मनोवैज्ञानिक रुपले हार्न दिएको छैन । आफूले समर्थन गरेको टीम हारे पनि समर्थकहरू पनि उत्साहित छन् ।

हिजोको खेल यस्तो थियो जसले विजयी टीम र त्यसका समर्थकहरूलाई खुशी त बनाएकै छ, साथै पराजित टीमलाई पनि मनोवैज्ञानिक रुपले हार्न दिएको छैन । आफूले समर्थन गरेको टीम हारे पनि समर्थकहरू पनि उत्साहित छन् ।

खास गरी उपविजेता टीम फ्रान्सका तेज खेलाडी एमबाप्पेको खेलले फ्रान्स मात्र होइन स्वयम् अर्जेन्टिनाका समर्थकहरूको पनि मन जितेको थियो । त्यसैलाई इंगित गर्दै एक खेलप्रेमिले सामाजिक सञ्जालनमा लेखेका छन् ‘मेसीले गेम जित्यो, एम्बाप्पेले मन’ (प्रकाश मानन्धर) । वास्तवमा हिजो खेलेका एम्बाप्पेले कपभन्दा मनै जित्न खेलेको देखिन्छ ।

बिजेता टीमका कप्तान मेसीको समर्थन नगर्ने त झन् को होला र ? उनका समर्थकहरू मध्ये एक जनाको स्टाटस यस्तो थियो– ‘मेस्सी भनेको फुटबलको मेस्सी पो हो । मेस्सी इज मेस्सी ।’ (मदन के. रिमाल) ।

मेसी र एम्बाप्पेको हिजोको भिडन्तले खेललाई यति रोमाञ्चक बनाइदिएको थियो कि कतिपटक कति जनाको सास रोकियो त्यो गनेर साध्य भएन । त्यसमाथि पेनाल्टी हुँदा पूरै सास रोकिएका पत्रकार यज्ञसले लेखे– पेनाल्टी ! सासै रोकिएला जस्तो खेल ! यो त फाइनल होइन, सुपर फाइनल हो ।

वास्तवमा पेनाल्टीले खेलमा तनाव थपिदिएकै थियो । एक खेलप्रेमिले लेखे, ‘खेलाडीलाई टेन्सन थियो नै, अब हेर्नेलाई पनि टेन्सन भयो । (सुजन विलास वज्राचार्य) ।

यो खेललाई खेलप्रेमिहरूले आजसम्ममै रोमाञ्चक खेलको दर्जा दिएको पनि पाइयो । एक खेलप्रेमिले लेखे– ‘यस्तो फुटबल फाइनल न पहिला भयो, न पछि हुनेछ । न भूतो, न भविष्यति ।’ (सरोज बस्नेत) ।

‘मलाई लाग्छ, यसपालिको जति उत्तेजक, जिज्ञासामय र रोमाञ्चक फाइनल सायदै यसअघि भएको थियो ।’

साहित्यकार अभय श्रेष्ठले खेलबारे टिप्पणी गरे– ‘मलाई लाग्छ, यसपालिको जति उत्तेजक, जिज्ञासामय र रोमाञ्चक फाइनल सायदै यसअघि भएको थियो ।’

त्यस्तै अर्का खेलप्रेमिले लेखेका छन्– ‘एउटा लेजेन्डको यति सुन्दर बिदाइ फुटबलमा उति चासो नराख्ने मजस्तालाई पनि प्रिय लाग्यो ! सबैको करिअरको यति सुन्दर र सुखद अन्त्य कमै हुन्छ ! क्रिकेटमा केही रोमाञ्चक बिदाइ छन् ! फुटबलको सम्भवतः सबै सपना मेस्सीले पूरा गर्यो । बधाई अर्जेन्टिना !!’ (नारायण काफ्ले) ।

त्यसैमा पत्रकार सुनिल खड्का जोड्छन्– ‘इतिहासमा यस्तो गेम हेर्ने अवसर कमै खेलप्रेमिहरुले पाउँछन् ।’

अर्का खेलप्रेमिको यस्तो स्टाटस आयो– ‘१९९८ देखि विश्वकप हेर्दै आए पनि यत्तिको रोमाञ्चक फाइनल चाहिँ हेरिएको थिएन् ।’ (लेखनाथ पाण्डे) ।

हिजोको खेललाई विभिन्न राजनीतिक दलका नेताहरूले पनि उत्साहपूर्वक हेर्नुभएको थियो । खेल सकिए लगत्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले लेख्नुभयो– ‘विश्वकप फुटबल ट्रफि विजेता अर्जेन्टिनालाई बधाई र फ्रान्सलाई सान्त्वना ।’

त्यस्तै एमालेका महासचिव शंकर पोखरलले लेख्नुभएको छ– ‘रोमाञ्चक फाइनल । बधाई अर्जेन्टिना ! बधाई मेसी ! बधाई एम्बापे !’

त्यसै गरी माओवादी केन्द्रका केन्द्रीय नेता हितमान शाक्यले लेख्नुभयो– ‘दुई घन्टा दबाबपूर्ण र रोमाञ्चकारी कडा प्रतिस्पर्धा फाइनल विश्वकप मज्जा लाग्यो । मेस्सी र एम्बाप्पेको उत्कृष्ट खेलले मन तान्यो ।’

एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठले लेख्नुभयो– ‘यस पालीको विश्वकपमा दमदार खेल प्रदर्शन विश्वकै फुटबलप्रेमीको मन जित्न सफल फ्रान्सका खेलाडी एमबाप्पेलाई पनि धेरै सम्मान ।’

त्यस्तै एमालेका सचिव योगेश भट्टराईले लेख्नुभएको छ– ‘विश्व कप २०२२ मेसीलाई समर्पित मैदानमा मेसीको अभाव खड्किरहनेछ । अर्जेन्टिनालाई जिताए । अरबौंको मन जिते ।’

एक खेलप्रेमिले लेखे– ‘मेस्सी युगको सुखद समापन र एम्बपे युगको भव्य प्रारम्भ ।

हिजोको खेलपछि खेलप्रेमिहरूले फ्रान्सका एम्बाप्पेलाई अर्का महान खेलाडीका रुपमा पाए । एक खेलप्रेमिले लेखे– ‘मेस्सी युगको सुखद समापन र एम्बपे युगको भव्य प्रारम्भ ।’ (हिमाल चन्द्रा) ।

त्यस्तै एम्बाप्पेप्रति समर्थित अर्को स्टाटस थियो– ‘एम्बाप्पे, अर्को विश्व कपको भविष्य ।’ (महेन्द्र श्रेष्ठ) ।

यसरी हिजो सम्पन्न विश्वकप नेपाली फुटबलप्रेमिहरुका लागि पनि एक अविस्मरणीय खेल रह्यो । नेपाली फुटबलप्रेमिहरुको मन मुटुबाट यो खेल कहिल्यै बिलाउन सक्दैन, उनीहरूको स्टाटस हेर्दा यो थाहा हुन्छ ।