लामो संवादहीनतापछिको मुस्कानले दिन खोजेको सन्देश (पाँच तस्बिर)

काठमाडौं, पुस ७ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनपछि वर्तमान नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच संवादहीनताको अवस्था थियो । ०७९ मंसिर ४ को निर्वाचनपछि ओली झापा र प्रचण्ड गोरखाबाट निर्वाचित हुनुभयो ।

प्रचण्ड निर्वाचित भएपछि ओलीले टेलिफोनमार्फत बधाई दिएको विषयले निकै ठूलो चर्चा पायो । त्यसपछि पनि उहाँहरु बिचको संवादहीनताको बाटो खुल्न सकेको थिएन । तर, एक्कासी हिजो राष्ट्रपति भवन शीलत निवासमा जेष्ठ सदस्यका रुपमा पशुपतिशमशेर जबरालाई सपथ खुवाउने कार्यक्रममा ओली र प्रचण्डको आपसमा भेट भएको तस्बिर सार्वजनिक भयो ।

ओलीसँगै बस्नुभएका प्रचण्ड भन्दा एक कुर्सी पल्तिर बस्नु भएका नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग कुराकानी गर्न ओली ढल्किरहको तस्बिरले धेरै चर्चा पाएको थियो ।

हिजोको भेटमा तीन जना नेताहरुले नै मास्क लगाएका कारण उहाँहरुको मुस्कान त्यति प्रष्ट देखिएको थिएन । तर, आज शपथ ग्रहण कार्यक्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा पनि दुई नेताबिच भेट भयो । उहाँहरुको विभिन्न भावभङ्गीसहितका तस्बिरले थप चर्चा पाएको छ ।

लामो समयको संवादहीनतालाई तोड्दै दुई नेताको कानेखुशीदेखि, मुस्कानसहितको तस्बिरले आगामी राजनीति र सरकार गठनको विषयलाई समेत जोडेर चर्चा सुरु भएको छ । हो, राजनीति मात्रै यस्तो विषय हो, जहाँ असम्भव भन्ने हुँदैन । अहिले प्रचण्ड कांग्रेस नेतृत्वको गठनबन्धनमा हुुनुहुन्छ । सरकार गठनका लागि विभिन्न खाले गणितको चर्चा भैरहेका बेला सार्वजनिक यी तस्बिरको छुट्टै चर्चा छ ।