समाचार विश्लेषण

गठबन्धन छाड्ने मुडमा प्रचण्ड, छाडे वामगठबन्धन सरकारका लागि ‘मुभ’ हुन सक्ने एमाले संकेत

मोहन बास्तोला
काठमाडौं, पुस ८ । २०७४ साल असोज १७ गते तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच सहमति पत्रमा हस्ताक्षर भयो । तीन नेताबिच हस्ताक्षर भएको त्यो सहमति पत्रमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता गर्ने उल्लेख थियो ।

वाम एकताको खुशी

त्यो सन्देशले वामपन्थका अनुयायीहरुमा विचित्रको खुशी छाएको थियो । यद्यपि सहमति पत्रको हस्ताक्षरको मसी सुक्न नपाउँदै भट्टराई सहमति तोडेर बाहिर निस्कनुभयो । भट्टराई बाहिर निस्के पनि उहाँ बाहेक नै एमाले र माओवादी २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनमा तालमेल गरेर गए । दुई कम्युनिष्ट पार्टीको तालमेललाई जनताले पनि रुचाए ।

जनताको अथाह भरोसाकै कारण उक्त निर्वाचनबाट ७ मध्ये ६ प्रदेशमा एमाले र माओवादी प्रष्ट बहुमतसहितको सरकार बनाउन सफल भयो । केन्द्रमा पनि एमालेलाई १ सय २१ र माओवादीलाई ५३ गरी १ सय ७४ सांसदसहित बहुमतको सरकार बनाउने बाटो खुला भयो । ०७४ फागुन ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा अध्यक्ष ओलीलाई १ सय ७४ सांसदको समर्थन प्राप्त भएको थियो ।

यहि बलमा मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच दिवङ्गत जननेता मदनकुमार भण्डारीको स्मृति दिवस कै दिन पारेर ०७५ जेठ ३ मा एकीकरण भयो । दुई कम्युनिष्ट पार्टीको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भयो । दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणले वामपन्थका अनुयायीहरुमा थप खुशी छायो । ती दुई पार्टीको एकीकरणसँगै अब लामो समय मुलुकमा वामपन्थीहरु सरकारमा रहने आँकलन समेत गर्न थालियो र त्यहि कोणबाट टिप्पणी पनि शुरु भए ।

पाँच वर्ष नपुग्दै सिसाझै फुट्यो खुशी

तर, त्यो खुशी पाँच वर्ष पनि टिक्न पाएन अर्थात् पार्टी भित्रको विवाद विस्तारै छताछुल्ल हुँदै गयो । नेताहरुबिचको मनमुटावका कारण तत्कालिन प्रधानमन्त्री ओलीले ०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्न बाध्य हुनुभयो । संसद विघटन गरेपछि अझै रुष्ट बन्नुभएका प्रचण्ड र नेपालहरुले ओलीसँगको दूरी अझै बढाउँदै गए । पार्टी भित्र थप कहल बढ्दै गयो ।

ओलीले ०७७ पुस ५ मा विघटन गरेको संसद सर्वोच्चले ०७७ फागुन ११ मा पुनःस्थापित गरिदियो । तर, पनि पार्टी भित्रको कलह झन्झन् झाँगिदै जान थालेपछि ओलीले फेरि ०७८ जेठ ८ मा संसद विघटन गरिदिनुभयो । त्यसपछि सत्तारुढ दलभित्रकै किचलो सर्वोच्चसम्म पुग्यो । सर्वोच्च अदालतको ०७७ फागुन २३ को फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै खारेजी भएनन् पहिलाको एमाले र माओवादी पनि व्यूँतिए । प्रचण्ड आफ्नै पुरानो पार्टीतिर लाग्नुभयो भने ओलीले पनि एमालेलाई नै व्युँताउनुभयो ।

०७४ असोज १७ बाट जोडिएको ओली र प्रचण्डको मन ०७७ फागुन २३ सम्म आइपुग्दा सिसाको महलझै चकनाचुर भयो । त्यति मात्रै होइन एमालेबाट माधवकुमार नेपालसहितका केही नेतासमेत अध्यक्ष ओलीसँग वैमनस्य राख्दै अलग बाटोतिर मोडिए । जसको परिणाम ०७४ फागुन ३ मा १ सय ७४ सांसदको समर्थनसहित प्रधानमन्त्री बन्नुभएका ओलीलाई ०७८ वैशाख २७ मा प्रतिनिधि सभामा विश्वासको मतमाथि मतदान हुँदा जम्मा ९३ मत मात्रै पर्यो ।

बुढानीलकण्ठमा सुतेका शेरलाई ब्युँझाएपछि

ओलीको साथ छाडेपछि बुढानीलकण्ठ नजिकै स्थायी बसोबास गर्दै आउनु भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको साथ खोज्दै प्रचण्ड र नेपाल उहाँको निवासतिर बाक्लो आउजाउमा लाग्नुभयो । ०७४ सालको निर्वाचनमा नराम्ररी खुम्चिएको नेपाली कांग्रेस यहि बिचमा प्रधानमन्त्री पद प्राप्त होला भन्ने अपेक्षामा थिएन । प्रधानमन्त्रीको कुनै अपेक्षामा नरहनु भएका देउवा बुढानीलकण्ठ जसरी आनन्दले बुढानीलकण्ठ आसपासमै हुनुहुन्थ्यो । उनै देउवालाई नेपाल र प्रचण्डले प्रधानमन्त्री पदको हुटहुटी लगाएपछि उहाँ विस्तारै चलमलाउन थाल्नुभयो । नभन्दै अदातलको परमादेशपछि देउवालाई प्रधानमन्त्रीको बाटो खुल्यो भने ओलीसँग प्रचण्ड र नेपालको बोलचाल समेत बन्द भयो ।

यतिसम्म कि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन र मंसिर ४ मा भएको संघ र प्रदेशको निर्वाचनमा समेत कांग्रेस नेतृत्वको गठबन्धनबाटै प्रचण्डले नेतृत्व गरेको माओवादी र नेपालले नेतृत्व गरेको नेकपा समाजवादी चुनावमा गयो । स्थानीय तहको चुनावमा सम्मानजनक अवस्थामा रहेका यी दुई दल मंसिर ४ को निर्वाचनमा भने नराम्ररी खुम्चिन बाध्य भए । समाजवादीले प्रत्यक्षमा १० सिट ल्याए पनि थ्रेसहोल्ड कटाउन सकेन भने माओवादी पनि प्रत्यक्ष र समानुपातिकमा गरी ३२ सिटमा मात्रै खुम्चियो ।

कांग्रेसको पिछलग्गु बनेर माओवादी अझै टाक्सिने कि, विकल्प खोज्ने ?

संघ र प्रदेशको निर्वाचनमा नराम्ररी खुम्चिएपछि माओवादीमा कांग्रेस नेतृत्वकै गठबन्धनमा पिछलग्गु बनेर अझै टाक्सिने कि ? विकल्प खोज्ने भन्ने बहस पेचिलो बन्दै आएको छ । माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, वाइसीएलका पूर्व अध्यक्ष दीपशीखालगायतका नेताहरु अब पनि कांग्रेसको पिछलग्गु बनेर माओवादी थप टाक्सिने बाटोतर्फ केन्द्रित हुनुहुन्न भन्ने पक्षमा छन् । अर्का उपमहासचिव जनार्दन शर्मालगायतका केही नेता भने पुरानै गठबन्धनबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेलमा लागेका छन् ।

केही दिन अघि मात्रै गुरुङ एमाले अध्यक्ष ओली भेट्न बालकोट पुग्नु भएको थियो । उहाँसँग त्यतिबेलै मैत्रीन्युजले भेटबारे जिज्ञासा राख्दा बधाई दिने बाहेक थप नभएको जानकारी दिनुभयो । तर, कम बोल्ने गुरुङको त्यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । त्यसो त माओवादी भित्र प्रभावशाली भूमिका खेल्दै आउनु भएका पुनको सक्रियतालाई पनि अहिले थप अर्थपूर्ण रुपमा लिइएको छ ।

स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएका पुन पनि पछिल्लो समय वामगठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्ने प्रयासमा हुनुहुन्छ । प्रचण्डका विश्वासपात्र पुनको सक्रियतासँगै प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री नपाए कांग्रेससँगको यात्रा तत्कालका लागि टुंगिन सक्ने संकेत देउवालाई दिन थाल्नु भएको छ । कांग्रेस भित्र पहिलो चरणको प्रधानमन्त्री माओवादीलाई दिन नसकिने मत बलियो बन्दै गएको अवस्था र वामगठबन्धनको सरकारका लागि पुनको प्रयासले पनि अहिले राजनीतिमा नयाँ हलचल ल्याएको छ ।

दोस्रो ठूलो दल एमालेले अहिलेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने, कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने वा माओवादी नेतृत्वलाई स्वीकार गर्ने यी कुनै पनि विकल्पमा मुख खोलेको छैन । एमालेका एक शीर्ष तहका नेताका अनुसार अहिले एमालेले सरकार गठनका लागि कुनै पनि रणनीति नबनाएको र गठबन्धन तोडिएको अवस्थामा मात्रै के गर्ने भन्ने रणनीतिमा रहेको बताउनुभयो ।

यसको मतलब के–हो भने एमाले अहिले सरकार बनाउने हतारमा भन्दा पनि गठबन्धन टुटेको अवस्थापछिको रणनीतिमा जुटेको छ । यद्यपि, एमाले भित्र अहिले गठबन्धन टुटेको अवस्थामा वामगठबन्धनको सरकार निर्माणका लागि पनि तयार रहेको संकेत भने देखिएको छ । करीब दुई वर्षसम्मको संवादहीनताको अन्त्य गर्दै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन संवादमार्फत बधाई दिनु, माओवादीका महासचिव गुरुङ ओली निवास पुग्नु जस्ता संकेतले पनि यो तथ्यलाई अस्वीकार गर्ने अवस्था देखिन्न ।

राष्ट्रपति भवन शीलत निवासमा जेष्ठ सदस्यका रुपमा पशुपतिशमशेर जबरालाई सपथ खुवाउने कार्यक्रममा ओली र प्रचण्डको आपसमा भेट भएको तस्बिर र उहाँहरुको शारीरिक हाउभाउले पनि केही सकारात्मक सन्देश दिएको राजनीतिक विश्लेषकहरुको ठहर छ । शीतल निवासको कार्यक्रममा ओलीसँगै बस्नुभएका प्रचण्ड भन्दा एक कुर्सी पल्तिर बस्नु भएका नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग कुराकानी गर्न ओली ढल्किरहको तस्बिरले धेरै चर्चा पाएको थियो ।

शीलत निवासको भेटमा तीन जना नेताहरुले नै मास्क लगाएका कारण उहाँहरुको मुस्कान त्यति प्रष्ट देखिएको थिएन । तर, हिजो शपथ ग्रहण कार्यक्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा पनि दुई नेताबिच भेट भयो ।

शीलत निवासको भेटमा तीन जना नेताहरुले नै मास्क लगाएका कारण उहाँहरुको मुस्कान त्यति प्रष्ट देखिएको थिएन । तर, हिजो शपथ ग्रहण कार्यक्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा पनि दुई नेताबिच भेट भयो

उहाँहरुको विभिन्न भावभङ्गीसहितका तस्बिरले थप चर्चा पाएको छ । त्यसो त केही हप्ता अघि नै एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वाम सरकार निर्माणतर्फ संकेत गर्नुभएको थियो । सचिव योगेश भट्टराईको संकेत पनि वाम एकतातर्फ नै केन्द्रित छ । उहाँले केही दिन अघि मात्रै मैत्रीन्युजसँग कुराकानी गर्दै आफ्नो विचार नजिक भएका दलहरुसँग स्थायी मोर्चा बनाएको अवस्थामा मात्रै अस्थिर सरकारको नियतीबाट मुक्त हुन सकिने बताउनु भएको थियो । आफ्नो विचार नजिक भएका दलहरुसँग स्थायी मोर्चा बनाएको अवस्थामा भने अस्थिर सरकारको नियतीबाट मुक्त हुन सकिने उहाँको भनाइ छ ।

‘विचार नमिल्नेहरुको गठबन्धन दीर्घकालिन समाधान होइन,’ उहाँले भन्नुभयो, ‘यो अवस्थालाई समाधान गरेर अघि बढ्नका लागि कि शासकीय प्रणालीलाई परिवर्तन गरेर अघि बढ्नुपर्छ । अहिलेकै निर्वाचन र शासकीय प्रणाली कायम राखेर अघि बढ्ने हो भने विचार मिल्नेहरुसँग मोर्चाबन्दी गर्नुको बिकल्प छैन ।’ त्यसो त उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताले समेत माओवादीलाई गठबन्धनबाट बाहिर आएर सहकार्य थाल्न आग्रह गर्दै आएका छन् । उहाँहरुको यस्तो खालको आग्रहबाट ओली बेखवर हुनुहुन्छ भन्ने अनुमान गर्न सकिन्न ।

लामो समयको संवादहीनतालाई तोड्दै ओली र प्रचण्डको कानेखुशीदेखि, मुस्कानसहितको तस्बिरले पनि यी संभावनालाई अस्वीकार गर्छ भन्ने देखिन्न । त्यसैले उहाँहरुको मुस्कानसहितको तस्बिरको कथाले पनि आगामी राजनीति र सरकार गठनको विषयबारे नयाँ बहसका लागि ढोका खोलिदिएको छ । हो, राजनीति मात्रै यस्तो विषय हो, जहाँ असम्भव भन्ने हुँदैन ।

अहिले प्रचण्ड कांग्रेस नेतृत्वको गठनबन्धनमा हुुनुहुन्छ । सरकार गठनका लागि विभिन्न खाले गणितको चर्चा भैरहेका बेला सार्वजनिक यी तस्बिरको चर्चाले कांग्रेस भित्र पनि एक प्रकारको आशंकाका पहाड सिर्जना भएको भन्ने तथ्यलाई आजै देउवाको दूतका रुपमा प्रकाशमान सिंह प्रचण्ड निवास पुग्नुले पनि प्रष्ट गर्छ । यी संकेतसँगै राजनीतिको गणित कतातिर जान्छ र कस्को पल्लाभारी हुन्छ भन्ने ठ्याक्कै थाहा पाउन भने केही दिन प्रतिक्षा गर्नै पर्ने हुन्छ ।