पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

कास्की, ८ पुस । कास्कीकाे पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस खेलाडी पोखरा आउन लागेको प्रतियोगिता संयोजकसमेत रहनुभएका सङ्घका द्वितीय उपाध्यक्ष नवीन चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो । उहाँले भन्नुभयो,“यो माछापुच्छ्रेकाे काखमा टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँं ।

”प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला एकल तथा डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा कूल दुई सय तीन जना खेलाडीले नाम दर्ता गरेको संयोजक चालिसेले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुला पुरुष तथा महिला एकलका विजेताले जनही रु ८० हजार र उपविजेताले नगद रु ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनलमा पुग्नेले नगद रु दस हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

यसैगरी पुरुष तथा महिला डबल्सतर्फ बिजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद रु दस हजार मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको विजेताले नगद रु ६० हजार, उपविजेताले रु ३० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनालिष्टले नगद रु दस हजारसहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु दस हजारसहित ट्रफ्री प्राप्त गर्नेछन् ।

यसैगरी ४५ वर्ष भन्दा माथिको एकलतर्फको विजेताले नगद रु ४० हजार, उपविजेताले रु २० हजार र सेमीफाइनालिष्टले नगद रु १० हजारका पुरस्कार पाउनेछन् । सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद रु २० हजार, उपविजेताले नगद रु १० हजार तथा सेमिफाइनालिष्टले नगद रु १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको ५५ वर्ष माथिको एकलतर्फको विजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजार, सेमिफाइनालिष्टले जनही नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । डबल्सतर्फको विजेताले रु २० हजार, उपविजेताले नगद रु १० हजार र सेमिफाइनालिष्टले जनही नगद रु १० हजारका साथमा ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथिको एकलतर्फ विजेताले नगद रु १५ हजार, उपविजेताले नगद रु सात हजार पाँच सय र सेमिफाइनलमा प्रवेश गर्नेले रु दुई हजार पाँच सयसहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।