चित्लाङको १२ वर्षे नाच काठमाडौंमा प्रदर्शन

काठमाडौं, ८ पुस । मकवानपुर जिल्लाको चित्लाङस्थित देउला गाउँमा देखाइने १२ वर्षे ऐतिहासिक नाच आज काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरियो । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ (चित्लाङ) बाट यो निकाल्ने गरिन्छ ।

यो नाचको १२ वर्षे उत्सवका क्रममा काठमाडौं ल्याई विभिन्न ठाउँमा प्रदर्शन गर्ने परम्परा रहेको छ । आज बसन्तपुरमा प्रदर्शन गरिएको यही नाच पुस १५ गते काठमाडौंको कुलेश्वरमा पनि प्रदर्शन गरिनेछ ।

यो नाच खास गरी लाल र हेरा नाम दुई पात्रको कथामा आधारित छ । लाल र हेरा लौकिक पात्र हुन् भने त्यस सँगै विभिन्न देवीदेवताहरूको नाच पनि यसमा जोडिएको हुन्छ । यसमा खास गरी गणेश, कुमारी, भैरव, महादेव, गंगा, पार्वती, कालिका आदि जस्ता देवीदेवताहरूको नाच रहेको हुन्छ ।

त्यससँगै उदोकल राजा, चित्रसिन राजा, वैश्य राजा, दानव राजा आदि जस्ता राजा महाराजाहरूको प्रशंग पनि जोडिएको पाइन्छ ।

सबै पात्रहरू अत्यन्त झकिझकाउ पोशाकमा आएका हुन्छन् भने यो नाचमा स्थानीय नेवार भाषाका साथै हिन्दी र मैथली भाषाको पनि प्रयोग गरिन्छ ।

मूलगुरु रामकृष्ण देउलाद्वारा निर्देशित यो नाच काठमाडौंमा कोहिटी खोल्चा पाखा र श्री कुलेश्वर सूर्यचन्द्र भैरव संरक्षण समितिको आयोजनामा प्रदर्शन गरिएको हो । यो नाच पूरा प्रदर्शन गर्दा रातभरिको समय लाग्ने बताइन्छ ।

काठमाडौंको बसन्तपुरमा आज प्रदर्शित नाचका केही तस्बिरहरूः