कैलालीको टीकापुरमा हात्ती र छाडा चौपायाका त्रासले आलुखेती

कैलाली, १० पुस । कैलालीको टीकापुर–८ श्रीलंकामा जंगली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ ।

श्रीलंकाका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् ।

किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सघाएको छ । आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ ।

सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् । “श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौँ”, किसान धनसिंह साउदले भन्नुभयो, “यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए । उखुखेतीलाई हात्तीले बढी नोक्सान गर्ने गरेकाे छ ।

साउदले आलुखेती छिटो उत्पादन लिन सकिने र जनावरले कम नोक्सान गर्ने बताउनुभयो । सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ । आयोजनाले यस वर्ष आलुखेती विस्तार र आलुको ब्लक स्थापनाका लागि किसानको मागका आधारमा सघाएको हो । आयोजनाले ४४ हेक्टरमा दुईवटा ब्लकमा ब्लक खेती गरेको हो ।

कृषितर्फ कार्यान्वयन एकाइले आलुखेतीलाई बढावा दिँदै यहाँ फलेको आलु शीतभण्डारमा भण्डारण गरेमा यहाँ आलुको आयात घटाउने लक्ष्य लिएको बाली विकास अधिकृत महतरा बताउनुहुन्छ ।

आयोजनाको सहयोगमा यहाँका अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आयोजनाले खेतीमा लगानीसँगै किसानको खेती र उत्पादनको पनि नियमित अनुगमन गर्न आवश्यक रहेको किसान अगुवा रामफल चौधरी बताउनुहुन्छ ।