बालकोट बैठकबारे पार्टीमा ब्रिफिङ गर्न अशोक राई बाहिरिए

कठमाडौं, १० पुस । बालकोटस्थित ओली निवासमा नयाँ गठबन्धन बनाउन भइरहेको चार दलको बैठकबाट जसपाका नेता अशोक राई भर्खर बाहिर जानुभएको छ । उहाँ गठबन्धनमा भइरहेको छलफल र राजनीतिको नयाँ विकासक्रम बारे पार्टी भित्र छलफल गर्ने भन्दै बाहिर जानुभएको हो ।

बालकोट बाहिर सञ्चारकर्मीहरू संक्षिप्त कुरा गर्दै नेता राईले नयाँ राजनीतिक विकासक्रमबारे पार्टीमा छलफल गर्न आफू जान लागेको बताउनुभयो ।

आफ्नो पार्टीभित्र अहिलेसम्म संसदीय दलको नेता समेत नछानेको कारणले नयाँ विकासक्रम बारे पाटीभित्र छलफल आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

जसपाभित्र एमालेसँग मिलेर सरकार बनाउने वा नबनाउने भन्ने विषयमा एक मत भएको छैन । पार्टीका नेता उपेन्द्र यादवले एमालेसँग भएको चुनावी गठबन्धन तोडिएको बताउनुभएको छ भने संघीय परिषद्का अध्यक्ष अशोक राईले चुनावमा गठबन्धन भएको कारणले सरकार पनि एमालेसँगै मिलेर बनाउनुपर्ने बिचार राख्दै आउनुभएको छ ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पनि चुनावमा एमालेसँग गठबन्धन गरेका कारणले सरकार पनि एमालेसँगै मिलेर बनाउनुपर्ने बिचार राख्नुभएको छ । ‘मैत्री न्युज’ को कुराकानीमा नेता श्रेष्ठले भन्नुभएको छ, ‘चुनावमा एमालेसँग गठबन्धन गरेका कारणले जसपा कांग्रेस–माओवादी गठबन्धनमा जानु हुँदैन । यदि एमाले सहितको सरकार बन्छ भने जसपा त्यसमा समावेश हुनुपर्छ ।’