काेराेनाले धरापमा परेकाे व्यवसाय, पशुपक्षी फार्मले उकास्याे  

कञ्चनपुर , ११ पुस । शुक्लाफाँटा नगरपालिका ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आउनु भएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प¥यो ।

कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि पसलमा ग्राहक आउनै छाडे”, उहाँले भन्नुभयो, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाडन्ु प¥यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो ।

उहाँले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको थियो । एउटै टर्की बेच्दा चार हजार आम्दानी भएको देखँे पछि उहाँ पनि पशुपक्षीपालनमा आकर्षित हुनुभएको थियो । तर उहाँसँग ज्ञान भने थिएन ।

पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिनुभयो भने केही काकासँग लिनुभयो । नगरपालिकामा फार्म दर्ता गरेपछि उहाँले लौकाट, स्थानीय जातका कुखुरा, चिनियाँ हाँस, कालिज, टर्की, बट्टाई, बङ्गुरपालन सुरु गर्नुभयो ।

“सुरुमा अनुभव नहुँदा तीन सय कुखुरा र दुई दर्जनभन्दा बढी टर्कीका बच्चा मरे”, उहाँले भन्नुभयो, “नोक्सानी भए पनि त्यसबाट पाठ सिक्दै काम जारी राखे अहिले राम्रो आम्दानी भइरहेको छ ।”

पशुपक्षीपालन गर्नका लागि स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरी फार्म तयार गरिएको छ । कुखुरा, हाँस, कालिज टर्की, बट्टाई, बङ्गुरका लागि अलग–अलग रुपमा फार्म बनाइएका छन् । त्यसका लागि उहाँले पाँच लाख लगानी गर्नुभएको छ ।

पशुपक्षीका लागि उहाँले चारो र औषधिमा मात्रै मासिक ३५ हजार खर्च गर्दै आउनुभएको छ । फार्ममा धामी दम्पती दिनरात खटिनुहुन्छ ।

“बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म दुवै जनाको समय फार्मको काममै बित्छ”, धामीले भन्नुभयो, “समय बितेको पत्तौ नै हुँदैन, मेहनत गरे अनुसारको आम्दानी हात लाग्दा निकै खुसी छौँ ।”

वार्षिक खर्च कटाएर दुई लाखदेखि तीन लाखसम्म आम्दानी भइरहेको उहाँले सुनाउनुभयो । यस वर्षको उहाँले दुई सय वटा टर्की दुई लाखमा बिक्री गरिसक्नुभएको छ । त्यसबाहेक ५० हजारका कालिज, २० हजार, २५ हजारका चिनियाँ हाँस पनि बिक्री भइसकेका छन् ।
त्यसबाहेक उहाँका फार्ममा तीन लाखका लौकाट, दुई लाखभन्दा बढीका लोकल कुखुरा र एक लाख २० हजारभन्दाबढीका छ वटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन् ।

स्थानीय बजारका व्यापारीसँगै धनगढी, महेन्द्रनगर लगायतका व्यापारी फार्ममै पुगेर पशुपक्षी खरिद गरेको उहाँको भनाइ छ । “बजार खोज्दै हिँडनु परेको छैन, व्यापारीले फोनमै कुरा गरेर गाडी ल्याएर नगद रकम दिएर पशुपक्षीको तौल गरी लैजाने गरेका छन्”, धामीले भन्नुभयो, “विगतमा किराना पसल सञ्चालन गर्दा सामान उधारो जाने समस्या अहिले छैन कारोबार नगदमै हुने भएकाले म सन्तुष्ट छु ।”

फार्मबाट भएको आम्दानीबाट उहाँले ह्याचरी मेसिन खरिद गर्नुभएको छ । मेसिनमा कालिज टर्की, बट्टाई, चाइनिज हाँस र स्थानीय जातका कुखुराका अण्डा राखेर चल्ला उत्पादन गरी बेच्ने योजना उहाँले बनाउनुभएको छ ।

फार्म नजिकै रिसोर्ट खोलेर व्यवसाय बिस्तार पनि गर्ने उहाँले योजना रहेको सुनाउनुभयो ।

धामी दम्पतीले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँका बुवा स्थानीय विद्यालयमा शिक्षक हुनुहुन्छ । “पढे लेखेर नोकरी गर्ने र विदेश जाने हाम्रो समाजको मानसिकता छ, त्यसलाई प्रोत्साहित पनि गरिन्छ”, उहाँका बुवाले भन्नुभयो, “घरमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता तयार गर्न जरुरी छ ।”