रणभुल्लमा देउवा

न सत्ता, न सहानुभूति

काठमाडौं, ११ पुस । बन्नै लागेको आफू अनुकुलको समीकरण भत्काएर ‘हात लागी शुन्य’ हुन पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला पूरा पार्टी पंक्तिभित्रै आलोचित हुनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अन्त लागेपछि आफू पुनः प्रधानमन्त्री बन्ने उहाँको सपना त तुहियो तुहियो, अब हातमा रहेको पार्टी सभापति पदबाट समेत राजीनामा गर्नुपर्छ भन्ने माग पार्टीमा तीव्र रुपमा उठ्न थालेको छ ।

प्रचण्ड गठबन्धन छोडेर एमालेतिर लागेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेन । तर कांग्रेस नेतृत्वमा सरकार बन्न नसकेको यो अवस्थामा पनि कुनै पनि कांग्रेसीले दुःख मनाउ भने गरेका छैनन् ।

काठमाडौंमा सक्रिय एक कांग्रेस नेताले भन्नुभयो, ‘अहिले कांग्रेसको सरकार बन्न नसकेको होइन, देउवाको सरकार बन्न नसकेको हो ।’

यसपाली सभापति देउवालाई पुनः प्रधानमन्त्री नबनाउन दलभित्रै पनि प्रयास भएको थियो । संसदीय दलको नेता छान्ने क्रममा उहाँलाई दलभित्रैबाट चुनौती दिइएको थियो । चुनाव जितेर उहाँ दलको नेता निर्वाचित हुन सफल हुनुभयो ।

यसपाली सभापति देउवालाई पुनः प्रधानमन्त्री नबनाउन दलभित्रै पनि प्रयास भएको थियो । संसदीय दलको नेता छान्ने क्रममा उहाँलाई दलभित्रैबाट चुनौती दिइएको थियो । चुनाव जितेर उहाँ दलको नेता निर्वाचित हुन सफल हुनुभयो ।

तर दलको नेता चुनिए पनि उहाँ प्रधानमन्त्री बन्न भने सफल हुनुभएन । उहाँ प्रधानमन्त्री बन्न नसकेकोमा न कुनै कांग्रेसीले दुःख पोखेका छन्, न सहानुभूति ।

उहाँ यसपटक प्रधानमन्त्री बन्न नसक्नुको कारण पार्टीको नीति नभई देउवाको आफ्नै हठ हो भन्दै यसको दोष समेत उहाँमाथि नै खन्याउन थालिएको छ ।

यस पटक उहाँलाई प्रधानमन्त्री बनाउनु सम्पूर्ण कांग्रेस पार्टीको माग थिएन । त्यो उहाँ एक्लैको रहर थियो । त्यसैले देउवा र प्रचण्डबीच प्रधानमन्त्री कसले लिने भन्नेबारे रस्साकस्सी चलिरहेका बेला पनि कांग्रेसका कुनै पनि नेताले देउवाको पक्षमा बोलेनन् । बरु आफ्नो व्यक्तिगत रहर पूरा गर्न पार्टीको मुखसम्मै आइपुगेको सम्पूर्ण उपलब्धीहरू समेत गुमाए भनी उहाँको कटु आलोचना भइरहेको छ ।

कांग्रेस भित्र कम्युनिष्टहरुलाई विश्वास गर्नु हुँदैन भन्ने एउटा बलियो लबी पहिलेदेखि थियो । त्यसैले गत मंसिर ४ गते भएको चुनावमा माओवादीसँग गठबन्धन बनाउने देउवाको नीतिलाई पनि कांग्रेसभित्र धेरैले रुचाएको थिएन । त्यसमाथि चुनावताका धेरै कांग्रेस नेताहरूको कोटा नै काटेर माओवादी र नेकपा (एस) का उम्मेदवारहरूलाई सिट दिलाएकोमा पनि उहाँको धेरै आलोचना भएको थियो ।

अहिले उहाँमाथि त्यो गठबन्धन गर्नुको औचित्यलाई लिएर समेत प्रश्न उठाउने तयारी भइरहेको छ ।

स्थानीय चुनावमा चितवनमा आफ्नै साथीहरूसँग झगडा गरेर प्रचण्डकी छोरी रेणु दाहाललाई मेयर बनाउन उहाँले मोल्नुभएको जोखिमको पनि यतिबेला हिसाब खोज्ने तयारी भइरहेको बताइएको छ ।

त्यति मात्रै होइन, स्थानीय चुनावमा चितवनमा आफ्नै साथीहरूसँग झगडा गरेर प्रचण्डकी छोरी रेणु दाहाललाई मेयर बनाउन उहाँले मोल्नुभएको जोखिमको पनि यतिबेला हिसाब खोज्ने तयारी भइरहेको बताइएको छ ।

यसरी देशमा हिजोदेखि शुरु भएको नयाँ राजनीतिक घटनाक्रमले देउवा गठबन्धनभित्र मात्र होइन, आफ्नै पार्टीभित्र पनि एक्लिनुभएको छ । प्रचण्डसँग प्रधानमन्त्रीको पालोबारे विवाद हुँदा उहाँले न गठबन्धनको बैठक डाक्नुभयो, न पार्टीकै बैठक बस्नुभयो ।

अहिले यति ठूलो ‘दुर्घटना’ भइसक्दा पनि उहाँले पार्टीको कुनै पनि निकाय वा तहको बैठक बोलाउनुभएको छैन । पार्टीका पदाधिकारीहरू उहाँले बैठक बोलाउनुहोला र जाउँला भनी पर्खेर बसिरहेका छन् ।