प्रारम्भिक बाल विकासको एकिकृत योजना निर्माण गर्दै बुढानीलकण्ठ

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले चाइल्ड नेपालको सहजीकरण र प्राविधिक सहयोगमा प्रारम्भिक बालविकास समबन्धी एकिकृत योजना निर्माण गर्न लागेको छ ।

योजना निर्माणको क्रममा आयोजित दुई दिने कार्याशालामा नगरपालिकाका सबै विषयगत शाखाका प्रतिनिधिहरुले सबै शाखाका कार्यक्रम, सेवाहरु र भावी कार्यक्रमहरुलाई प्रारम्भिक बाल विकासको प्रारुपबाट प्रस्तुत गरेका थिए ।

समुह कार्य गर्दै प्रारम्भिक बाल विकासमा नगरपालिकाको अवस्था विश्लेषण गर्दै अबको पाँच वर्षको लागि आवश्यक कार्यक्रमहरु, लक्षित समुह, बजेट, बजेटको स्रोत एवं सहकार्य र साझेदारीका क्षेत्रहरुको सम्बन्धमा छलफल र प्रस्तुति गरिएको थियो ।

कार्यशालामा बोल्दै बुढानीलकण्ठका प्रमुख मिठाराम अधिकारीले शिक्षाको आधार भनेकै प्रारम्भिक बाल विकास रहेको र यो एकिकृत योजना निर्माण पश्चात नगरपालिकाको सबै सेवाहरु प्रारम्भिक बाल विकासलाई सहयोग गर्ने बताउनुभयो । साथै, चाइल्ड नेपालका अध्यक्ष डा. कृष्ण सुवेदीले अबको विकास मानवस्रोतको विकास रहेको र त्यसको लागि प्रारम्भिक बालविकासमा स्थानीय सरकारको उच्चतम लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका १३ वटै वडाहरुबाट प्रतिनिधित्व रहेको थियो । दुई दिने कार्यशालाको सहजीकरण डा. मिनाक्षी दाहाल र पुजा पन्तले गर्नुभएको थियो ।