एमाले मुख्यालयमा भावी दुई मुख्यमन्त्रीका ‘शारीरिक हाउभाउ’ र घाम सम्वाद

काठमाडौं, १५ पुस । पछिल्लो राजनीतिक समिकरण अनुसार अहिले एमालेको नेतृत्वमा गठबन्धन बनेको छ । एमाले मंसिर ४ को निर्वाचनमा जसपा र राप्रपासँग तालमेल गरेर चुनावमा गएको थियो । अहिले नयाँ गठबन्धनपछि राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र माओवादी पनि थपिएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको नेकपा समाजवादी भने अहिले तटस्थ छ । नयाँ गठबन्धन नबन्दा पनि प्रदेश १ को मुख्यमन्त्री एमालेबाटै बन्ने करिब निश्चित जस्तै थियो ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटको बार्दलीबाट प्रचण्डसँगै हात हल्लाउँदै अप्रत्याशितरूपमा प्रधानमन्त्री बनाएपछि बदलिएको राजनीतिक समिकरणले एमालेलाई कम्तीमा थप दुई प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ भने थप एकको पनि सम्भावना छ । यी तीन प्रदेशमध्ये प्रदेश नम्बर १, गण्डकी र कर्णाली हुन् । माओवादीले अहिले सुदुरपश्चिमसँगै वागमती वा लुम्बिनी लिने सम्भावना छ ।

मधेस प्रदेश भने सत्ता समिकरणमै रहेका जसपा र सिके राउतले नेतृत्व गरेको दल मध्ये एकले आधा–आधा कार्यकाल लिने सम्भावना बढी छ । यद्यपि, शीर्ष तहमा कुन प्रदेश कसले लिने भन्ने औपचारिक निर्णय त भएको छैन । तर, प्रदेश १, गण्डकी र कणाली प्रदेशबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेका एमालेका नेताहरुको पार्टीको पदीय जिम्मेवारी हेर्दा उहाँहरुले पाउने निश्चित जस्तै छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको प्रमुख दाबेदार रहनु भएका खगराज अधिकारी स्थायी कमिटी सदस्य हुनुहुन्छ । प्रदेश १ बाट मुख्यमन्त्रीका दावेदार रहनु भएको हिक्मत कार्की पनि स्थायी कमिटी सदस्य नै हुनुहुन्छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा देखिनु भएका यमलाल कँडेल पनि स्थायी कमिटी सदस्य हुनुहुुन्छ ।

यसरी हेर्दा यी तीन प्रदेशमा उहाँहरु मुख्यमन्त्री बन्ने प्रवल संभावना देखिएको छ । एमालेका शीर्ष नेताहरुले पनि स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएका ठाउँमा माओवादीको दाबी नरहने बताउँदै आउनु भएको छ । यी तीन वटै प्रदेशको संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य निर्वाचित हुनुभएको छ । त्यसकारण पनि यी प्रदेशमा उहाँहरु नै मुख्यमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ ।

प्रत्यक्षतर्फ ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश एकमा १४ जिल्ला छन् । कांग्रेस नेतृत्वकै गठबन्धन यथावत रहँदा पनि प्रदेश एकमा नेकपा (एमाले)लाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको मात्रै समर्थनले पनि सरकार बनाउन पुग्ने गणित थियो । पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि प्रदेश एकमा अब एमालेकै नेतृत्वमा सरकार गठनका लागि थप सहज अवस्था देखिएको छ । प्रदेश १ मा सरकार बनाउन ४७ सिट भए पुग्छ । तर, अहिले एमाले नेतृत्वको गठबन्धनसँग ६० सिट पुग्छ ।

प्रदेश १ का भावी मुख्यमन्त्रीका दाबेदार कार्कीको हाउभाउमा मुख्यमन्त्री निश्चित जस्तै देखिन्थ्यो । एमाले मुख्यालयमा आज विहानको पहारीलो घामसँगै मुख्यालय छिर्नुभएका कार्कीलाई स्थायी कमिटी सदस्य भानुभक्त ढकालदेखि, डाक्टर राजन भट्टराई, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्यहरु माधव ढुंगेल, रचना खड्कासम्मले ‘लु है’ भावी मुख्यमन्त्रीज्युलाई बधाई भन्दा उहाँले फर्काएको मुस्कानले पनि उहाँ मुख्यमन्त्रीका लागि ढुक्क हुनुहुन्छ भन्ने ठम्याउनु कुनै मुस्किल थिएन । मध्यान्ह १२ बजेको उडानबाट विराटनगर जाने तयारीमा रहनु भएका कार्कीले करीब १ घण्टा मुख्यालयमा चिया खाएर, घाँम तापेर र आफू भन्दा सिनियर नेता, समकक्षी र जुनियरसँग कुराकानी गरेर विताउनुभयो ।

धरैले उहाँसँग मुख्यमन्त्री भएपछि बधाई दिन भन्दै तस्बिर समेत खिचेका थिए । उहाँ पनि सबैसँग खुशीसाथ तस्बिर खिच्न तयार हुनुभएको थियो । कार्की मुख्यालयमै रहेका बेला कँडेल पनि टुप्लुक्क कार्यालयमा आउनुभयो । उहाँहरु दुबैले करीब पाँच मिनेट जति मुख्यालयकै मैदानमा घाम ताप्दै केही बेर कुराकानी गर्नुभयो र तस्बिर पनि खिच्नुभयो । उहाँहरुको यी सबै हाउभाउ रोमाञ्चक खालको देखिन्थ्यो ।

त्यसैगरी कर्णाली प्रदेशमा नेपाली कांग्रेसले २४ प्रत्यक्ष मध्ये ९ माओवादीले ९ र एमालेले पाँच स्थानमा जित निकालेको छ । समानुपातिकतर्फ यो प्रदेशमा एमाले पहिलो दल बनेको छ । ४० सदस्यीय कर्णाली प्रदेशमा २१ सिट भए सरकार गठनका लागि प्रयाप्त हुन्छ । अहिले गठबन्धनमा रहेका एमाले र माओवादी मात्रैले पनि यो प्रदेशमा सरकार बनाउन पुग्ने गणित छ । त्यसैले यो प्रदेशबाट कँडेल मुख्यमन्त्री बन्ने निश्चि जस्तै छ । अघिल्लो पटक कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेको र पटक–पटक कँडेलले मुख्यमन्त्रीका लागि प्रयास गरेकाले पनि उहाँलाई पार्टीले न्याय गर्ने सम्भावना बढी छ ।

आज एमाले मुख्यालय च्यासलमा भेटिनु भएका कँडेललाई धेरैले मुख्यमन्त्रीका लागि बधाई कमरेड भन्दा उहाँको मुहारबाट फुत्त निस्किएको मुस्कानले पनि उहाँ मुख्यमन्त्रीमा ढुक्क भए जस्तै देखिन्थ्यो । एमाले मुख्यालयको पहिलो तलाबाट ओर्लिदैँ गर्नुभएका कँडेल मिडियासँग भने यो विषयमा कुरा गर्न अलिक तर्किनुभयो । मैत्रीन्युजले मुख्यालयमै उहाँसँग कुराकानी गर्न खोज्दा अहिले बोल्न हतार गर्नु नहुने भन्दै उम्किनु भयो ।

‘केही दिन पर्खिनु न, अहिले बोल्ने कुरा नै के–छ,’ यति भन्दै उहाँ तर्किनुभयो । उहाँले नै त्यसो भनेपछि यो विषयमा उहाँलाई थप बोल्न लगाउनु उपयुक्त नदेखिए पनि कुराकानी थप अघि बढ्ने । उहाँ त्यसपछि पनि ।

वागमती प्रदेश संसदीय दलमा चितवनका जगन्नाथ थपलिया सर्वसम्मत चयन भइसक्नु भएको छ । वागममतीमा माओवादीबाट शालिकराम जमरकट्टेल, सरल सहयात्री र युवराज दुलाल दाबेदार छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा पनि एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सहज गणित देखिएको छ । उक्त प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ सांसद छन् । राप्रपाले समेत एमाले नेतृत्वको गठबन्धनलाई सहयोग गरेका कारण अधिकारीलाई मुख्यमन्त्री बन्ने सहज वातावरण निर्माण भएको छ ।