‘मैत्री न्यूज’ समाचार प्रभाव

उपहारको मोबाइलले भन्सार छुट पायो, एमडीएमएस प्रणालीलाई निरन्तरता

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्कने नेपालीहरुले ल्याउने दुई वटासम्म मोबाइल सेटमा भन्सार नलिन निर्देशन दिनुभएको छ ।
विदेशमा काम गरी नेपाल फर्कने नेपाली नागरिकले व्यक्तिगत प्रयोजनको लागि ल्याउने अतिरिक्त मोबाइलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कर लिन थालेपछि समस्या उत्पन्न भएको थियो । सरकारले त्यस्ता मोबाइलमा कर लिनुका साथै त्यसलाई नेपालमा दर्ता गरी एमडीएमएस (मोबाइल डिभाइस मोनिटर सिष्टम) मा प्रवेश गराउने नीति बनाएको थियो ।

तर विदेशबाट ल्याइने अतिरिक्त मोबाइललाई एमडीएमएसमा दर्ता गराउने र साथमा भन्सार पनि लिने भनेपछि त्यसको चर्को विरोध हुन थाल्यो । विरोधपछि वर्तमान नयाँ सरकारले विदेशबाट ल्याइने उपहारको मोबाइलमा भन्सार नलिने मात्र होइन लागू हुनै लागेको एमडीएमएस प्रणाली पनि स्थगित गर्ने निर्णय गरिदियो ।

सरकारको यो निर्णयलाई भने एमडीएमएस प्रणालीका विज्ञ एवं सरोकारवालाहरूले विरोध जनाउँदै आइरहेका थिए । यसै क्रममा हिजो ‘मैत्री न्यूज डट कम’ ले यो सम्बन्धी समाचार सम्प्रेषण गरेको थियो । सूत्रहरूका अनुसार समाचार आइसकेपछि प्रधानमन्त्री प्रचण्डले हिजै अर्थमन्त्रीलाई फोन गरी विदेशबाट फर्कने नेपालीहरूले लिएर आउने अतिरिक्त मोबाइलमा लागू गरिएको भन्सारसम्बन्धी समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । साथै स्थगित गरिएको एमडीएमएस प्रणालीलाई पनि पुनः निरन्तरता दिन निर्देशन गर्नुभएको थियो ।

उपहारको मोबाइलमा भन्सार छुट गर्ने नाममा एमडीएमएस प्रणाली नै खारेज गर्नु शंकास्पद

प्रधानमन्त्रीको निर्देशन अनुसार अब दुइटासम्म अतिरिक्त मोबाइल बोकेर आएका भन्सार तिर्न नपर्ने भएको छ ।

तर विज्ञहरूले भने उपहारको मोबाइलमा भन्सार छुट गरिनु सकारात्मक भए पनि त्यसरी ल्याइएको मोबाइललाई पनि एमडीएमएस प्रणाली अन्तर्गत दर्ता भने गर्नुपर्ने राय दिनुभएको छ ।

मोबाइल हराएमा वा चोरी भएमा ट्राकिङ गरी पत्ता लगाउन, मोबाइलको प्रयोग गरी गरिने अपराध कार्यलाई नियन्त्रण गर्न, मोबाइलको दुरुपयोगलाई नियन्त्रण गर्न यो एमडीएमएस प्रणाली उपयोगी हुन्छ । नेपालमै किनेको होस् वा विदेशबाट उपहार स्वरुप आएको होस्, यो प्रणालीमा प्रवेश गरेपछि यसबाट प्राप्त गर्न सकिने यी सबै सुविधाहरू उपयोग गर्न सकिने उहाँहरुको राय रहेको छ ।

त्यसैले उपहारमा ल्याइएका मोबाइलहरू पनि अनिवार्य रुपमा दर्ता गरिनुपर्ने उहाँहरूको ठहर रहेको छ ।

प्रधानमन्त्रीले अहिले दिनुभएको निर्देशनले विदेशबाट नेपालीहरुले लिएर आउने अतिरिक्त मोबाइलसम्बन्धी समस्या समाधान हुने भएकोले अब यसपछि सरकारको त्यसरी ल्याइएका मोबाइलहरुमा पनि एमडीएमएस प्रणाली लागू गराउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।

विदेशबाटै ल्याइएका मोबाइल पनि चोरी भएर आएका हुन् वा वैध माध्यमबाट आएका हुन् भनी भनेर पत्ता लगाउने प्रविधि भनेकै एमडीएमएस भएकाले त्यसलाई विभिन्न बाहनामा रोक्न नहुने विज्ञहरुको भनाइ छ ।

अहिले बजारमा उपहारको नाममा गैर कानुनी रुपले ल्याइएका मोबाइलहरु छ्याप्छ्याप्ती रुपमा बजारमा आइरहेको ग्राहकहरू बताउँछन् । त्यस्ता मोबाइलहरू बजारमा सस्तो मूल्यमा बिक्री वितरण भइरहेको पनि उपभोक्ता अधिकारकर्मीहरू बताउने गर्छन् ।

अवैध मोबाइलको बिक्री वितरणलाई नियन्त्रण गर्न राजश्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, इम्पोर्ट डिलर एशोसियशन लगायतले त्यस्ता खुद्रा पसलहरुमा छापा मारी नियन्त्रणमा लिनुपर्ने सुझाव पनि उहाँहरुले दिनुभएको छ ।

त्यस्ता अवैध मोबाइलको बिक्री वितरणलाई नियन्त्रण गर्न राजश्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, इम्पोर्ट डिलर एशोसियशन लगायतले त्यस्ता खुद्रा पसलहरुमा छापा मारी नियन्त्रणमा लिनुपर्ने सुझाव पनि उहाँहरुले दिनुभएको छ ।

यसो गर्दा राजश्व वृद्धि हुने र मोबाइलको गलत प्रयोगलाई पनि नियन्त्रण गर्न सकिने भएको हुनाले यसतर्फ नेपाल सरकारको अविलम्ब ध्यान जान आवश्यक देखिन्छ ।
‘मैत्री न्यूज’ ले यसबारे सम्प्रेषण गरेको समाचारलाई हृदयंगम गरी सरकारले अविलम्ब निर्देशन दिएर आवश्यक सुधार गरेको हुनाले भविष्यमा पनि यसरी नै सही कुराहरूलाई मनन् गरी सुधारको बाटा अवलम्बन गर्ने अपेक्षा गरेका छौँ ।