गाउँपालिकाको १५ लाख बजेटमा एक सय पचास ज्येष्ठ नागरिकलाई धार्मिक यात्रा

मुस्ताङ, २० पुस । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण सुरु गरेको छ । गाउँपालिका भित्रका पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ ।

करिब छ दिनका लागि तय गरिएको भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि रहेको छ ।

धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करिब एक सय पचासजनाभन्दा बढी ज्येष्ठ नागरिकलाई पोखरा, लुम्बिनी, मनकामना र चितवनको सौराहासम्म भ्रमण गराइने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

प्रत्येक वर्ष गाउँपालिकाको बजेटबाट कर्मचारी र जनप्रतिनिधि भ्रमणमा जाने प्रचलनलाई तोड्दै यस वर्ष भने ज्येष्ठ नागरिकको सम्मानका लागि धार्मिकस्थल भ्रमण लैजाने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गन्तव्य एउटै भए पनि सहज वातावरण मिलाउन प्रत्येक वडाबाट वडाध्यक्षलाई सहजीकरणको जिम्मा दिइएको छ ।” ‘ज्येष्ठ नागरिकका लागि भनेर यस धार्मिक भ्रमणमा पाँचवटै वडाका लागि १५ लाख बजेट छुट्याइएको छ’ उहाँले भन्नुभयो ।