न्युनतम साझा कार्यक्रम सार्वजनिकः जनताका आशा, भरोसा र अपेक्षालाई ध्यानमा राखेर यो सरकार अघि बढ्छः ओली

काठमाडौं, २५ पुस । सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । न्युनतम साझा कार्यक्रममा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख छ । यो वर्ष सरकारले गाडी नकिन्ने, नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने जस्ता कुरालाई पनि समावेश गरेको छ ।

त्यस्तै स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्नेलगायतका कुरा पनि समावेश गरिएको छ । प्रधानमन्त्री प्रचण्ड, उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलगायतका नेता सहितको उपस्थितिका सार्वजनिक गरिएको न्युनतम साझा कार्यक्रममा ६ महिनाभित्र नागरिकताको सबै समस्या समाधान गरिने पनि उल्लेख गरिएको छ । सत्ता गठबन्धनमा सहभागी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका थिए ।

न्युनतम साझा कार्यक्रम सार्वजनिकपछि सम्वोधन गर्दै एमाले अध्यक्ष एवं उच्चस्तरीय संयन्त्रका संयोजक ओलीले नयाँ गठबन्धन केही गर्नका लागि आएको बताउनु भयो । देशका लागि केही गर्न अहिलेको सरकार प्रतिवद्ध रहेको बताउनुभयो । जनादेश नै फरकसहित बनेको सरकारले देशका लागि केही गर्ने बताउनुभयो । हिजोको गठबन्धनले आफैले सरकार बनाउन नसक्ने अवस्था भएपछि यो सरकार बनेको बताउनुभयो । देशको हितमा अघिल्लो गठबन्धनले केही गर्न नसकेको बताउनुभयो । अहिलेको ताजा जनादेश र मतादेशले जनताका आशा, भरोसा र अपेक्षालाई ध्यानमा राखेर सरकार बनेको बताउनुभयो ।

न्युनतम साझा कार्यक्रमको सार्वजनिक मस्यौदा सरकारलाई हस्तान्तरण गर्दै यो पूरा हुने पनि उहाँले दाबी गर्नुभयो ।