नेप्सेमा २१ अंकको गिरावट,कारोबार रकम भने बढ्यो

काठमाडौं ,२६ पुस । लगातार चार कारोबारको दिन १५० अंकले बढेको नेप्से परिसूचक मंगलबार घटेको छ । यस दिन २१ं.३४ अंकले घटेको हो ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम वृद्धि भएको छ । आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचक ०.९६ प्रतिशतले घटेर २१९०.२ विन्दुमा रोकिएको छ ।
घटेको बजारमा बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्य ९.९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर दोस्रो बजारमा भर्खरै सूचीकृत भएको हो । त्यसैले पनि लगानीकर्ता कम सेयर मूल्य भएका कम्पनीमा आकार्षित भएको देखिन्छ ।

यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस दिन तारागाउँ रेजेन्सी होटेल, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, रिभर्स फल्स पावर, पोखरा फाइनासन्स र सयपत्री हाइड्रोपावर लिमिटेडका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।

२५ प्रतिशत लाभांश घोषणा गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि प्रतिकित्ता ९७ रुपैयाँ गुमाएका छन् ।

कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंक समूह र म्युचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

वाणिज्य बैंक समूहको परिसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२२ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ४.३१ प्रतिशतले घटेको छ ।

आज २५४ धितोपत्रको दुई करोड आठ लाख ४३ हजार ९५२ कित्ता धितोपत्र खरिद–बिक्री भएको छ । यस दिन सर्वाधिक रकमको सेयर खरिद–बिक्री ङादी ग्रुप पावरको भएको छ । यो कम्पनीको २१ करोड २१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । अपि पावर कम्पनी लिमिटेडको २० करोड ६७ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।