प्रचण्डलाई २६८ सांसदबाट विश्वासको मत प्राप्त, विपक्षमा २ मत मात्रै

काठमाडौं, २६ पुस । प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको बैठकमा २७० सांसदको उपस्थिति रहेको थियो । जसमध्ये उहाँलाई २६८ मत प्राप्त भएको छ । उपस्थित सांसद मध्ये उहाँको विपक्षमा २ मत मात्रै परेको छ । उहाँलाई २७५ मत मध्ये २६८ मत प्राप्त भएको हो । गठबन्धनमा सहभागी ७ दलले उहाँलाई विश्वासको मत दिएका छन् ।

गठबन्धनका दलहरुमा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४ गरी गठबन्धनमा १६७ मत छ । त्यसैगरी १० मत रहेको नेकपा र ४ मत रहेको लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिदाँ उहाँको पक्षमा १८१ पुगेको छ । त्यसैगरी आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसदले पनि प्रचण्डलाई मत दिदाँ मत विश्वासको मत १८४ पुगेको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरेर उहाँलाई मत दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा हुनुहुन्छ। जेष्ठ सदस्यको रुपमा रहनु भएका सभामुख पशुपति शंसेर जवरा पनि मतदान प्रक्रियामा सहभागी हुनुभएन । १२ दल र स्वतन्त्रसहित बाँकी २७३ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् । तीन जना सांसद भने अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेसले उहाँको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । कांग्रेसको समेत मत जोड्दा उहाँको पक्षमा २६८ मत पुगेको छ । यद्यपि, कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमानसिंह र प्रदीप पौडेलले फरक मत राख्दै मत नहाल्ने जनाउनु भएको थियो । अर्को वैठक माघ ५ गते विहीबार बिहान ११ बजे बस्नेगरी स्थगन भएको छ ।