सहायक प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ– ‘अहिलेसम्म ३२ वटा शव निकालेका छौँ, थप उद्धारकार्य जारी छ’

काठमाडौं, १ माघ । गत २२ डिसेम्बरका दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक डेमो उडान गरेको ९ एन– एएनसी जहाज दुर्घटमा परेकाहरुको दुर्घटनास्थलबाट अहिलेसम्म ३२ जनाको शव निकालिएको कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले मैत्रीन्युजलाई जानकारी दिनुभयो ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला दिएको जानकारी अनुसार १० जना विदेशी र पाँच जना भारतीय नागरिकसहित पोखरा उढेको जहाज आज चालक दलका सदस्यसहित ७२ जना लिएर उडान भरेको थियो ।

अनुभवी क्याप्टेन कमल केसीले उडान भरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको थियो । यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने भए पनि त्यो अघि नै दुर्घटनामा परेको थियो । चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरको देखिएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले दिइएको जानकारीस् अनुसार पनि विमान नेपाली सेनाको ब्यारेक पछाडि खसेको हो ।

‘दुर्घटना भएको ठाउँ असाध्यै अप्ठ्यारो ठाउँमा छ,’ ढकालले भन्नुभयो, ‘डोरी लगाएर थप उद्धार कार्य जारी राखेका छौँ ।’ दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १–१ जना छन् ।