यती एयरलाइन्सका प्रवक्ताको नजरमा क्याप्टेन केसी– ‘उहाँले कहिल्यै ठूलो स्वर गरेको थाहा छैन’

यती एयरलाइन्सका प्रवक्ताको नजरमा क्याप्टेन केसी– ‘उहाँले कहिल्यै ठूलो स्वर गरेको थाहा छैन’

काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि अहिले दुर्घटनास्थलमा खोज र उद्धार कार्य जारी रहेको छ ।

क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएसँगै विमानमा सवार यात्रुहरु जीवित भेट्ने आशा कम हुँदै गएको छ । लामो समय यती एयरलाइन्समा काम गर्दै आउनु भएका क्याप्टेन केसी निकै अनुभवी र मिलनसार व्यक्ति हुनुहुन्थ्यो । केसीको स्वाभावबारे यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भन्नुहुन्छ– ‘उहाँ काममा एकदमै लगनशील हुनुहुन्थ्यो, उहाँले फ्लाइटमा कहिल्यै ‘नो’ भनेको मलाई थाहा छैन ।’

बर्तौलाले केसी सबैसँग मिलनसार व्यवहार गर्ने क्याप्टेन भएको पनि जानकारी दिनुभयो । ‘सबैसँग मिल्ने खालको हुनुहुन्थ्यो । नरम स्वाभावको हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘उहाँले कहिल्यै ठूलो स्वरमा बोलेको पनि थाहा छैन । ड्राइभरदेखि पाइलटसम्म उहाँले सबैसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो । आठ–नौ वर्षदेखि म उहाँसँगै काम गरिरहेको छु । अहिलेसम्म उहाँका बारेमा नराम्रो उजुरी केही आएको थाहा छैन ।’