पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पोखरा जहाज दुर्घटना जाँच आयोग गठन

काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएपछि अहिले दुर्घटनास्थलमा खोज र उद्धार कार्य जारी रहेको छ ।

क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएसँगै विमानमा सवार यात्रुहरु जीवित भेट्ने आशा कम हुँदै गएको छ । उक्त जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिनुभयो ।

छानबिन गर्न बनेको आयोगमा हवाई विज्ञ तथा अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य हुनुहुन्छ ।

आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।