महानगरको उदण्ड शैली र बालेनले बुझ्न नसकेको शहरी चरित्र

काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका पछिल्ला गतिविधिहरू अहिले काठमाडौंवासी बीच आलोचित हुँदै जान थालेका छन् । उहाँका गतिविधिहरूका कारण असन्तुष्ट काठमाडौंवासीको आक्रोशले अब शहरी विद्रोहको आगो बाल्ने त होइन भन्ने आशंका समेत जन्माइदिएको छ ।

काठमाडौं महानगरको शहरी चरित्र बुझ्नलाई जटिल छ । काठमाडौंबाटै राजनीतिक उचाइ हासिल गर्नुभएका सर्वोच्च नेता गणेशमान सिंहले एकपटक काठमाडौंवासीलाई भेंडा जस्ता भनेकै कारण चुनावमा उहाँका श्रीमती र पुत्र दुवै पराजित भए ।

अहिले काठमाडौंवासीकै मतले निर्वाचित हुनुभएका मेयर बालेन साह पनि काठमाडौंको यो चरित्रलाई बुझ्न नसकेर अर्को विद्रोहको शिकार बन्ने हुन् कि भन्ने शंका उत्पन्न भएको छ ।

गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तत्कालीन मेयरका उम्मेदवार साहले २०७९ वैशाख ११ गते आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको थियो । ६ पृष्ठ लामो प्रतिवद्धता पत्रमा काठमाडौं महानगर कस्तो बनाउने भन्ने अवधारणासहित २८ बुँदालाई समेटिएको थियो ।

र्यापरको पहिचान बनाएर चुनावी मैदानमा आउनु भएका उहाँले मैदानमा खटिँदा खटिँदै नै आफूलाई सफल इञ्जिनियरको परिचय पनि गराइसक्नु भएको थियो । डिजिटल मिडियामा राम्रो प्रभाव पार्दै चुनावी मैदानमा उत्रिनु भएका बालेनको त्यो बेलाको क्रेज खपि नसक्नुको थियो । त्यही क्रेजलाई समात्दै २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ पुरानो राजनीतिक दलका अनुभवी उम्मेदवारहरुलाई समेत पछि पार्दै स्वतन्त्र हैसियतमा महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभयो ।

निर्वाचित भइसकेपछि उहाँले डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको अवधारणा अघि ल्याउनुभयो । उहाँको त्यो अवधारणा पत्रलाई धेरैले मन पनि पराए । अझ उहाँ डिजिटल युगका युवा पुस्तामा विचित्र खालको प्रभाव छाड्न सफल पनि हुनुभयो ।

युवा पुस्तामा पनि उहाँप्रति अपार आशा थियो । उनीहरुका आँखाले काठमाडौँको रुप बदल्ने आँटिलो युवा बालेन भेटिएको भन्दै खुशी मनाएको अनुभूति हुन्थ्यो । नभन्दै केही हप्ता उहाँको क्रेज निरन्तर रह्यो । कुनै कार्यक्रममा बालेन उपस्थित हुँदा उहाँसँग सेल्फी खिच्नेहरुलाई व्यवस्थापन गर्न नगर प्रहरीलाई हम्मेहम्मे पर्ने गर्दथ्यो भने कतिपय कार्यक्रममा त नेपाल प्रहरी नै असिन–पसिन भएर व्यवस्थापन गर्न खटिनु पर्ने अवस्था हुन्थ्यो ।

तर, पछिल्लो समय भने आफ्नै आलाकाँचा र उरन्ठेउला गतिविधिका कारण बालेनका एक पछि अर्को कार्य चरम विवादमा पर्दै आउन थालेको छ । कुनै समय आफूले प्राप्त गरेको अपार समर्थनको दुरुपयोग गर्दै आफैँ नियम, आफैँ कानुन, आफैँ संविधान र आफैँ सर्वव्यापी भन्ने उहाँको लहडी अर्थात एकसुरे स्वभावका कारण एकपछि अर्को विवादमा फस्ने मात्रै होइन उहाँको उदण्ड र गुण्डागर्दी शैलीका कारण द्वन्द्व बढ्ने खतरा समेत बढ्दै गएको छ ।

काठमाडौं महानगरपालिका जस्तो गौरवपूर्ण इतिहास बोकेको संस्थाको मेयर भएर पनि सामान्यभन्दा सामान्य राजनीतिक सुझबुझ समेत नभएका बालेनको अराजक गतिविधिले गर्दा अहिले सहरी विद्रोहको खतरा समेत बढ्दै गएको संकेत मिल्न थालेका छन् ।

बालेनले आफ्नो प्रतिवद्धता पत्रमा उपभोग अवधि वा समय अनुसार खाली ठाउँहरूमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गर्ने उल्लेख गर्नुभएको थियो । तर, मेयर निर्वाचित भएपछि उहाँले कुनै समय नै नदिई फुटपाथ व्यवसायीलाई उठिवास लगाएपछि उहाँको चर्को विरोध भएको छ । लामो समयदेखि त्यही व्यवसायमा संलग्नहरुलाई हठात उठिवास लगाउँदा उनीहरु मात्रै रुष्ट छैनन्, कुनै समय बालेनसँगै मेयरको उम्मेदवार बन्नुभएका सुमन सायमी समेत उहाँको त्यो गतिविधिबाट असन्तुष्ट बन्नुभएको छ ।

‘३० औँ वर्षदेखि जीवनयापन गरिरहेकाहरुलाई आजको भोली नै हटाउने भन्ने कुरा अपरिपक्व निर्णय हो,’ हामीसँगको वार्तामा उहाँले भन्नुभयो, ‘व्यवस्थापन नगरी उठिवास लगाउने कुरा गलत छ । विकल्प दिन सकिन्छ । पूर्वाधार बनाउन सकिन्छ । तर, त्यसरी उठिवास लगाउने कुरा गलत हो ।’

काठमाडौंको शदियौं पुरानो असन बजारका पुराना पसलहरू जम्मै हटाएपछि स्थानीय व्यापारीहरु पनि उहाँसँग सन्तुष्ट छैनन् ।

चुनाव अघिको प्रतिवद्धतामा अग्र्यानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गर्ने, काठमाडौं महानगर नजिकै इन्सिनेरेटर जडान गरी उच्चस्तरीय प्रविधिले फोहोर व्यवस्थापन गर्ने, नक्शाङ्कित ४२ देखि ४५ खाली ठाउँलाई तिनीहरुको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायामस्थल र दौड गर्ने ठाउँमा रूपान्तरण गर्ने जस्ता सुन्दर सपना बाँड्नुभएको थियो । तर, अहिले उहाँ ती सबै काममा असफल हुनुभएको छ । आफ्नो असफलतालाई ढाकछोप गर्न कहिले राष्ट्रपति त कहिले पूर्वप्रधानमन्त्रीहरुलाई अपशब्दसहितका गाली गर्ने असफल रणनीतिमा उहाँ हुनुहुन्छ । उहाँको त्यो असफल रणनीतिलाई पनि धेरैले मन पराएका छैनन् ।

त्यस्तै केही समय अघि बिना कुनै ठोस योजना टुकुचा खोल्ने उहाँको योजनाले पनि काठमाडौंवासीलाई आक्रोशित बनाएको छ । टुकुचा खोला खोल्ने भन्दै उहाँले स्थानीय जनताको घर कम्पाउण्डमाथि डोजर चलाउनुभएको थियो भने उहाँलाई सर्वोच्च अदालतको आदेशले मात्रै रोक्न सकेको थियो ।

त्यस्तै काठमाडौं मनपा २५ वडास्थित बांगेमुढा टोलमा रहेको त्वाःछेँ (सामुदायिक भवन) मा पनि उहाँले दशैं ताका आएर डोजर चलाउनुभयो । यसले काठमाडौंको भित्री शहरका जनता उहाँसँग आक्रोशित बनेका छन् । उहाँको त्यो उदण्ड पनि सर्वोच्चकै आदेशले मात्रै रोकिएको थियो ।

त्यस्तै टुँडिखेल मासेर अन्डरग्राउण्ड पार्किङ बनाउने उहाँको हवाइ योजनाले कुनै बेला उहाँलाई पूर्ण समर्थन गर्ने अभियन्ताहरू समेत उहाँको विरोधका उत्रिसकेका छन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित शंखमुलमा अनावश्यक रुपमा बाटो फराकिलो गर्ने नाममा स्थानीय साहेल महर्जन (अवाले) को निजी जग्गा कब्जा गर्न उहाँले चलाएको डोजरलाई काठमाडौंका स्थानीय जनताले आफ्नै छातीमाथि डोजर चलाएझैं ठानेका छन् ।

स्थानीय ज्यापू समुदायको कार्यक्रममा गएर ‘म पनि ज्यापू नै हुँ’ भनेर बोल्ने तर काममा चाहिँ ज्यापूकै जग्गामा डोजर चलाउने उहाँको हर्कतले उहाँ काठमाडौंमा निर्वाचित हुनुभएका गलत मेयर हुन् भन्ने सन्देश प्रवाह गरेको छ ।

वास्तवमा चार वर्ष अघि काठमाडौंमा मानव सागर उर्लिने गरी उठेको गुठी विद्रोह पनि यसरी नै विकसित भएको हो । मेयर बालेन साहले उक्त गुठी आन्दोलनको राप र तापलाई छिट्टै नै बिर्सनुभएको जस्तो लाग्दछ ।

वास्तवमा चार वर्ष अघि काठमाडौंमा मानव सागर उर्लिने गरी उठेको गुठी विद्रोह पनि यसरी नै विकसित भएको हो । मेयर बालेन साहले उक्त गुठी आन्दोलनको राप र तापलाई छिट्टै नै बिर्सनुभएको जस्तो लाग्दछ ।

नायक बन्ने जिजीविषाले मेयर बालेनमा सवार हठका कारण लोकतान्त्रिक मूल्यमान्यतालाई कत्लेआम गर्ने प्रयास मात्रै गरेको छैन, उहाँको हठी स्वभाव र आत्मकेन्द्रित चिन्तनको साम्राज्य खडा गर्ने दुष्प्रयासका कारण महानगरवासी थप दुर्भाग्य भोग्न बाध्य हुने खतरा पनि देखिएको छ । सहरका पेटी र खुला स्थानबाट गरिबहरूको जिविका खोस्दा, आत्मकेन्द्रित चिन्तनको साम्राज्य खडा गर्ने हठात चाहमा संस्कृतिमाथि डोजरका नङ्ग्रा घुसार्ने अनि नम्बर प्लेट वेगरका डोजर लिएर संविधानविपरीत उत्ताउलो र क्रुर स्वभालले बालेन आफैँ पनि पछिल्लो समय कमजोर बन्दै जान थाल्नुभएको छ ।

अहिले काठमाडौं महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । यद्यपि, बालेनले अधिकांश निर्णयहरु कार्यपालिकाबाट गराउने भन्दा पनि आफ्नै लहडमा गर्दै आउनु भएको छ । काठमाडौं महानगरको प्रवक्ताको जिम्मेवारीमा अहिले वडा १७ का वडा अध्यक्ष नवीन मानन्धर हुनुहुन्छ । जानकारी अनुसार मेयर बालेनका अराजक र उदण्ड गतिविधिलाई अहिले सबैभन्दा बढी आडभरोसा प्रवक्ता मानन्धर र विवादित छविका नगर प्रहरी प्रमुख राजु पाण्डेबाट मिल्ने गरेको छ ।

जानकारी अनुसार मानन्धरले कार्यपालिकामा बहुमतको बल देखाएर आफ्नो स्वार्थपूर्तिका लागि मेयर बालेनलाई अराजक काममा उक्साउने र स्वार्थ पूरा गर्ने गर्नुभएको छ । यतिसम्म कि उहाँ स्थानीयको पक्षमा भन्दा पनि मेयर खुशी बनाउने र आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेका कारण उहाँ समेत आलोचित बन्ने गर्नुभएको छ । पाण्डे र मानन्धरसँगै उहाँका केही आसेपासेले समेत आ–आफ्नो स्वार्थका लागि अराजक काममा उकास्ने गरेका कारण महानगरपालिका भित्रका इमान्दार र लामो अनुभव भएका कर्मचारी समेत आजित बन्न थालेका छन् । त्यसो त उहाँको उदण्ड शैलीबाट आजित भएर उहाँ आफैँले नियुक्ति गरेका कतिपय सल्लाहकारहरुले समेत साथ छाड्न थालेको भन्ने सूचना आउन थालेको छ । त्यो उहाँका लागि थप दुर्भाग्य हो । त्यसो त आफ्नो स्वार्थ पूर्तिका लागि एमालेकै एक वडाध्यक्षले समेत बालेनको हात समातेर बैतर्नी तार्ने असफल प्रयासमा लिप्त भएको बुझिएको छ ।

यी र यस्तै गतिविधिका कारण मेयर आफैले आफैँलाई असुरक्षित महसुस गर्न थाल्नु भएको छ । त्यसको एउटा उदाहरण हो, महानगर प्रहरीप्रतिको भरोसा टुटेर सरकारसँग पीएसओ माग्नु ।

महानगरपालिका भनेको स्थानीय सरकार हो । यसलाई घरदैलोको सरकार पनि भनिन्छ । जनताको दुःख, पीडामा सँगै रहनु पर्ने जिम्मेवारीका मेयरले आफूलाई असुरक्षा भयो भन्दै सुरक्षा माग्दै हिँड्नुको तात्पर्य उहाँ जनतासँग नजिक होइन अझै टाढाको दूरी बनाउँदै हुनुहुन्छ र उहाँ आफैँले पनि मैले जनचाहना अनुरुप काम गरेको छैन र म असुरक्षित बनेको छु भन्ने भूत सवार गरेर सुरक्षाको माग गर्दै हिँड्नु भएको छ ।

उहाँ कतिसम्म असफल हुनुहुन्छ भन्ने धेरै उदाहरणहरु छन् । त्यो मध्येको एक सशक्त उदाहरण हो, कुनै समय उहाँबाट अपार आशा गरेका व्यक्तिहरु नै उहाँको गतिविधिबाट आजित भएर उहाँकै विरुद्धमा खबरदारी कार्यक्रम गर्न बाध्य हुनु । पछिल्लो समय मेयर बालेनका अराजक र उदण्ड गतिविधिको विरोधमा माघ १५ मा काठमाडौंको माइतीघर मण्डलामा खबरदारी कार्यक्रमको समेत आयोजना गरिएको छ । बालेनका अराजक गतिविधिमाथिको खबरदारीको यो झिल्को मात्रै भएको धेरैले बताउने गरेका छन् । यदि बालेनले मै राज्य, मै संविधान भन्ने अराजक र हठी स्वभावमा सुधार नल्याउने हो भने द्वन्द्व बढ्ने र सहरी विद्रोहसम्म पुग्ने खतरालाई नकार्न सकिन्न । त्यसैले मेयरले आफूलाई सच्याउनुको विकल्प छैन ।

अझै पनि मेयरसँग लामो समय बाँकी नै छ । यदि आफू सफल हुने हो भने उपमेयर सुनिता डंगोलले प्रयोग गरेका शब्द जस्तै सहकार्य, सहमति र सहअस्तित्वमा केन्द्रित भएर सबैको साझा मेयर बन्ने गरी अघि बढ्नु उपयुक्त हुन्छ । यदि, उहाँले आफूलाई सच्याउने तर्फ ध्यान नदिने हो भने उहाँ आफ्नै लागि पनि दुर्भाग्य नहोला भन्ने अवस्था रहन्न ।