वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा जित निकाल्ने अठोटसहित भण्डारी समूह मैदानमा (भिडियोसहित)

काठमाडौं ५ माघ । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औँ साधारण सभा तथा निर्वाचन यहि माघ ६ गते राजधानीमा सम्पन्न हुँदैछ । यो निर्वाचननमा नेकपा (एमाले) निकटका व्यवसायीहरु राजेन्द्र भण्डारीको नेतृत्वमा प्रगतिशील व्यवसायिक समूह बनाएर चुनावी मैदानमा आएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस निकट व्यवसायीहरुले पनि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनालको नेतृत्वमा लोकतान्त्रिक टीम अघि बढाएको छ । संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले पनि अध्यक्षको उम्मेदवार छन् ।

चारवटै प्यानल आ–आफ्नो टिम बनाएर चुनावी मैदानमा ओर्लिएका छन् । चारवटै टिम मध्ये अहिले प्रगतिशील समूहले अन्य समूहको भन्दा आक्रमक चुनावी अभियानलाई अघि बढाएको चुनावी प्रचारको कमाण्ड सम्हाली रहनु भएकी सुवर्णा श्रेष्ठले जानकारी दिनुभयो । अव्यवहारिक वैदेशिक रोजगार ऐन परिमार्जन सहित ‘सुरक्षित व्यवस्थित र मर्यादित’ वैदेशिक रोजगारको नारासहित अघि बढेको भण्डारी नेतृत्वको व्यवसायिक समुह सकारात्मक उत्साहका साथ चुनावी मैदानमा उत्रिएको छ ।
पछिल्लो समय युवाप्रतिको उत्साह बढिरहेका बेला संघका पनि युवा व्यवसायी भण्डारीको नेतृत्वप्रति व्यवसायीहरु थप उत्साहित बनेका छन् । प्रगतिशील समूहमा अनुभवी व्यवसायीहरुको बाहुल्यता छ भने युवालाई अध्यक्षको उम्मेदवार बनाएर चुनाव जित्ने रणनीति अघि बढाएको छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष समेत रहनु भएका भण्डारीलाई अध्यक्षको रुपमा अघि बढाएर युवाप्रति भरोसा जगाउने र वैदेशिक रोजगार व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनासहित अघि बढेको बताउनुहुन्छ प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष सरोज पोखरेल । यस अघिको नेतृत्वले गरेका कमिकजोरीलाई समेत सुधार गर्ने र व्यसायीमाथि हुने अनावश्यक खालका धाक–धम्कीका विरुद्ध लड्न सक्ने नेतृत्व प्रगतिशील समूहसँग रहेको उहाँको भनाई छ ।

मञ्चका पूर्व अध्यक्ष एवं संघका पूर्व प्रथम उपाध्यक्ष टंक राउत पनि यो पटक प्रगतिशी समूहमा युवा र अनुभवी नेतृत्व भएका कारण जित सुनिश्चित भएको बताउनुहुन्छ ।
सरकारले एकतर्फी रुपमा वैदेशिक रोजगार सम्बन्धी नीति नियम लागू गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीलाई धराशायी पारेको र विना कसुर व्यवसायीलाई दुःख दिने क्रम बढेसँगै समग्र व्यवसायीक हकहितका लागि व्यवसायीक समुहका तर्फबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा भण्डारीलाई अघि बढाएको उहाँको भनाई छ ।

यसअघि संघमा स्वार्थकेन्द्रित व्यक्तिहरुको हावी हुँदा व्यवसायीका समस्या ओझेल परेको यो समूहको भनाई छ । सरकारले सधै व्यवसायीमाथि अनावश्यक नीति नियम लादेर दुःख दिने काम गरेको भन्दै त्यसको सहजिकरणका लागि आफ्नो उम्मेदवारी भएको भण्डारीको भनाई छ ।

मुख्यगरेर वैदेशिक रोजगार व्यवसायीहरुको व्यवसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि आफ्नो नेतृत्वको टिमलाई विजयी बनाउनका लागि उहाँले आग्रह गर्नुभयो । अबका दिनमा व्यवसायीका मुद्दा उठाई समस्या समाधान गर्न व्यवसायीक समुह विजयी हुन आवश्यक रहेको उहाँको भनाई छ ।

वैदेशिक रोजगार ऐन तथा नियमावलीमा राखिएको फ्री भिसा तथा फ्रि टिकट, घरेलु कामदार कार्यबिधि २०७२ का बिभिन्न अव्यवहारिक सरकारी एवम् प्रशासनिक निर्णयहरु र निहित स्वार्थका कारण वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा समस्या देखिनुका साथै सीमित व्यक्तिका निहित स्वार्थले सिण्डीकेट लागू गर्न खोजिएको छ । यस्ता गलत पात्र, प्रबृति, नेतृत्व र निर्णयहरुलाई सच्याउँदै व्यवसायिक यात्रालाई समयानुकूल बनाउनका लागि मंचका तर्फबाट अघि सारिएका उम्मेदवारहरुलाई जिताउनु पर्ने पनि उनको भनाई छ ।

२२ वटा एजेण्डासहित चुनावी मैदानमा उत्रिएको यो समूहले वै.रो.ऐन–२०६४ को थप परिमार्जन गरि व्यवसायी तथा श्रमिक मैत्री बनाउने । बार्षिक १०० जना श्रमिक अनिवार्य पठाउनु पर्ने अव्यवहारिक कानूनी प्रावधानलाई हटाउनुपर्ने जस्ता एजेण्डालाई अघि सारेको बताउनुहुन्छ मञ्चका महासचिव जनक रावल । यो समूहले व्यवसायी कल्याण्कारी कोषको स्थापना गर्ने प्रकृयालाई अबिलम्ब कार्यान्वयनमा लैजाने, दुताबास नभएका युरोपियन लगायतका मुलुकहरुमा चेम्बर अफ कमर्स, मोफा वा नोटरी पब्लिकको प्रमाणिकरणको आधारमा मागपत्र स्वीकृतिको लागि पहल गर्ने जस्ता एजेडा पनि यो समूहले अघि सारेको छ ।

यो समूहलाई विजयी बनाउनु पर्ने मत अन्य व्यवसायीहरुको पनि छ । तराई वैदेशिक रोजगार व्यवसायीका अध्यक्ष शीतल प्रसाद यादव पनि यो समूहको जित सुनिश्चित भएको बताउनु हुन्छ ।

युवा व्यवसायी मदन चम्लागाईँ क्षेत्री पनि युवा नेतृत्वको पक्षमा आफूहरु रहेको बताउनुहुन्छ । उहाँ आफू पनि युवा भएकाले युवाको स्प्रीट बोक्न सक्ने नेतृत्व युवा नै हुने भन्दै भण्डारी नेतृत्वको समूहले जित्नुपर्ने बताउनु हुन्छ ।

सदस्य पदका उम्मेदवार जनकलाल बास्तोला पनि प्रगतिशील समूहका युवाहरुको बाहुल्यता रहेको भन्दै जित निश्चित भएको बतउनुहुन्छ ।

बैदेशिक रोजगार व्यवसायी संघको इतिहासलाई हेर्ने हो भने यस अघिका निर्वाचनमा थु्रपै पटक यो समूहले जित आफ्नो कब्जामा पारको छ । यो पटक पनि यो समुहलाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ ।