निजी जग्गामा डोजर चलाउने बालेन अमेरिकी स्कुलले बाटोमै पर्खाल उठाउँदा चाहिँ किन चुप ?

काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकाले सर्वसाधारण जनताको निजी जग्गा कब्जा गर्न डोजर चलाएकोमा चर्को आलोचना भइरहेको बेला साँच्चै डोजर चलाउनै पर्ने ठाउँमा भने मेयर बालेन साह आँखा चिम्लेर बसिरहेको आरोप लागेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित रवि भवनमा अमेरिकी दूतावासद्वारा सञ्चालित लिङ्कन स्कुलले १३ आना जति बाटो नै मिचेर पर्खाल उठाउँदा पनि महानगरपालिका आँखा चिम्लेर बसिरहेको गुनासो स्थानीयवासीले गरेका छन् ।
उक्त ठाउँमा लिङ्कन स्कुलले आफ्नो मूल गेट अगाडि रहेको सार्वजनिक बाटोको करिब १३ आना जति क्षेत्रफल आफ्नो कम्पाउण्ड भित्र पर्ने गरी पर्खाल उठाएको छ । स्कुलले आफ्नो कम्पाउण्ड भित्र पारेको उक्त खाली ठाउँमा सडक विभागले पीच समेत गरिसकेको थियो ।
पीचै भइसकेको बाटो समेत आफ्नो कम्पाउण्ड भित्र पर्ने गरी पर्खाल उठाएपछि स्थानीय जनताले काठमाडौं महानगरपालिकालाई यसबारे जानकारी गराएको थियो । तर महानगरपालिकाले यसलाई वास्ता गरेन ।
काठमाडौं महानगरपालिकामा मेयरका रुपमा बालेन साह जितेर आइसकेपछि लिङ्कन स्कुलले औपचारिक रुपमै उक्त खुल्ला ठाउँ कब्जा गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जानकार सूत्रले दिएको जानकारी अनुसार यसको लागि काठमाडौंस्थित अमेरिकी राजदूतावासले नै हालसाबी गर्न काठमाडौंको नापी विभागमा फाइल पठाएको थियो । त्यसपछि सो ठाउँको नापी गर्न विभागका कर्मचारीहरू आएका थिए । तर स्थानीय जनताले त्यहाँ नापी गर्न दिएन । त्यतिबेला पनि स्थानीय जनताले महानगरपालिकालाई खबर गरेका थिए । तर त्यतिबेला पनि महानगरपालिकाले वास्ता गरेन ।
स्थानीय जनताले रोकेपछि नापीका कर्मचारीहरू नापी नै नगरी फर्केका थिए ।
तर नापी पनि नगरिएको सो ठाउँमा लिङ्कन स्कुलले बलियो संरचना सहितको पर्खाल भने उठाइसकेको छ । सो ठाउँमा बिना नक्सा पर्खाल उठाइएको हो भने महानगरपालिकाले तुरुन्तै डोजर ल्याएर भत्काउनुपर्ने स्थानीय जनताको माग छ ।
यदि नक्सा पनि बनाइएको छ भने सार्वजनिक बाटोको बीचमा पर्खाल उठाउने नक्सा कसरी तयार भयो, त्यसको जवाफ महानगरपालिकाले दिनुपर्ने आवाज पनि स्थानीय जनताले उठाएका छन् ।
वि.सं. २०५९ सालमा वडा कार्यालयले नै तयार गरेको सो ठाउँको नक्सामा उक्त ठाउँलाई सार्वजनिक बाटो भनेरै देखाइएको छ । सो स्थानका ८० वर्षीय स्थानीय निवासी एवं पूर्व वडा अध्यक्ष श्याम श्रेष्ठका अनुसार वि.सं. २०२१ को नक्सामा पनि सो ठाउँलाई सार्वजनिक बाटो भनेरै किटान गरिएको छ । त्यहाँ केटाकेटी खेल्ने र स्थानीय जनताको भोज हुँदा प्रयोग गर्ने चलन थियो ।
उहाँका अनुसार लिङ्कन स्कुलले शुरु शुरुमा त्यहाँ आफ्नो गाडी पार्क गर्न थालेका थिए । तर अहिले ठाउँ नै कब्जा गर्न खोजेको छ । उहाँका अनुसार पहिले रवि शम्शेर जीवित हुँदा पनि यो सार्वजनिक बाटो नै थियो । यही बाटो भएर रवि शम्शेर आउजाउ गर्नुहुन्थ्यो । पछि त्यो ठाउँमा सडक विभागले पीच गरेको थियो ।
स्कुलले पर्खाल उठाउन थालेपछि त्यस विरुद्ध धर्ना कस्न गएका स्थानीय जनताका बीचमा उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका संयोजक सुमन सायमि पनि हुनुहुन्थ्यो ।
मैत्री न्युजसँग कुरा गर्दै सायमिले भन्नुभयो, ‘स्कुलले सार्वजनिक जग्गा नै कब्जा गर्ने गरी पर्खाल उठाएपछि महानगरपालिकालाई पटक पटक जानकारी गर्यौं तर वास्ता गरेन । महानगरपालिकाले साँच्चै डोजर चलाउनु पर्ने त यहाँ हो । तर किन हो खोइ, यता चाहिँ पूरै आँखा चिम्लेर बसेको छ ।’
स्मरणीय छ, नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोगमा आवद्ध विदेशी नागरिकका छोराछोरी अध्ययन गर्ने यो स्कुल अमेरिकी दुतावासद्वारा सञ्चालित छ ।