१२ वर्षे जात्रा सकिए सँगै ठेचो वस्तीका सामाजिक प्रतिबन्धहरू फुकुवा

ललितपुर, ९ माघ । ललितपुरको ऐतिहासिक ठेचो गाउँमा सञ्चालित नवदुर्गा भवानीको १२ वर्षे नाच सम्पन्न भएको छ । यो १२ वर्षे नाचको अन्तिम नाचका रुपमा हिजो आइतवार धुखः नामक नाच प्रदर्शन गरी यसको समापन गरिएको थियो ।

गत साउन १० गते गठेमंगलका दिन यो १२ वर्षे नाच सुरु भएको थियो । आइतबार धुखः नामक नाच नचाएपछि यो जात्रा सम्पन्न भएको हो । ललितपुरको दक्षिणी भेगस्थित ठेचोको नवदुर्गा भवानी देवी गुठीले यो १२ वर्षे जात्रा सञ्चालन गर्दछ ।

यो नाचको खास विशेषता के हो भने नाच शुरु भएको दिनदेखि ठेचो बस्तीमा विभिन्न प्रकारका नियमहरु लागू हुने गर्दछ । जस्तो जात्रा सञ्चालन हुन्जेल वस्तीमा नवदुर्गा गुठीको आफ्नौ बाजाजागा बाहेक अन्य बाजाहरु बजाउनु हुँदैन । त्यस्तै मन्दिरका घण्टा बजाउने, सिठ्ठी बजाउने, ताली पड्काउने, खुट्टा झुन्ड्याएर बस्ने, बिहे व्यवहार जस्ता शुभकार्य र भोजभतेर जस्ता कार्यहरु गर्ने, राति हिँडडुल गर्ने र राति बस्ने गरी पाहुना राख्न नमिल्ने जस्ता नियमहरू लागू हुन्छन् ।

जात्रा अवधिभरि स्थानीय ठेचोवासीहरूले यी नियमहरूलाई श्रद्धापूर्वक स्वतःस्फूर्त रुपमा पालना गरेका हुन्छन् ।

हिजो जात्राको समापनपछि यी प्रतिबन्धहरू पनि फुकुवा भएको छ । गत वर्षको गठेमंगलका दिनदेखि बन्द भएका यी गतिविधिहरू सुचारु गर्न अब ठेचोवासीहरू स्वतन्त्र भएका छन् ।

नवदुर्गा नाचमा जम्मा १३ देवीदेवताहरूको नाच चलाउने गरिन्छ । यसमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंघिनी, व्याघ्रिनी, इन्द्रायणी र श्वेत भैरवको नाच हुन्छ । गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । यी मध्ये इन्द्रायणी देवीको नृत्य गराइँदैन भने श्वेत भैरव १२ वर्षमा एकपटक मात्र नृत्य गराइन्छ ।

नवदुर्गा १२ वर्षे जात्रा अवधिभर विभिन्न मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्ने नियम छ । त्यसमध्ये देय् भ्वय् (देश भोज) भनी ठेचो र सुनाकोठीका सम्पूर्ण निवासीलाई भोज खुवाउने परम्परा पनि रहेको छ ।

नवदुर्गा गुठीका नाइके भक्तलाल मालीका अनुसार नवदुर्गा भवानीको नाच हरेक वर्ष दशैं, योमरी पूर्णेका दिन पनि नचाउने गरिन्छ । त्यतिबेला नचाइने नाच र अहिले १२ वर्षमा नचाइने नाच एउटै हो ।

१२ वर्षमा एकपटक देवगणलाई नाच सिकाउन एउटा छाप्रो बनाइएको हुन्छ । स्थानीय नेपालभाषामा यसलाई ‘बल’ भनिन्छ । नाच सकिएपछि नाचमा सहभागी भएका देवगणहरूकै अगाडि यो बल भत्काइन्छ । त्यसपछि नाच पूर्ण रुपमै समापन भएको मानिन्छ । आज ठेचोमा यो बल भत्काउने कार्य गरिँदैछ ।

यो १२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मूल जात्रा व्यवस्थापन समिति गठन गरिएको थियो ।

नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले सबैको साथ समर्थनले जात्रा सफलतापूर्वक सम्पन्न भएको बताउनुहँुदै यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ ।