कहिले हुन्छ राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर चरित्रका कारण नयाँ राष्ट्रपति छनौट गर्ने चुनाव कहिले हुने हो अझै निश्चित हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन छिट्टै सम्पन्न गराउन उहाँमाथि राजनीतिक दलहरूले दबाब बढाउन थाले पनि उहाँले भने अझै यसमा कुनै निर्णय दिनुभएको छैन ।

फागुनमा गर्ने भनिएको राष्ट्रपति निर्वाचनको मिति अझै तोक्न नसक्नु र त्यसमा प्रधानमन्त्री दाहालले अझै आलटाल गरिरहनुले दलहरू बीच संशय बढ्दै गएको पाइन्छ ।
यसै बीच संसदको ठूलो दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो आग्रह गरेको हो ।

कांग्रेस बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे पनि सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले पनि दावी गर्ने तयारी गरिरहेको छ । राष्ट्रपतिमा दावी गर्नका लागि नै कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनमा समेत उम्मेदवारी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आवश्यकै नभएको विश्वासको मत दिनुको कारण पनि यही भएको मानिन्छ ।

कांग्रेसको पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचनका आफूले पनि दावी गर्ने र यसको लागि अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुनेबारे पनि छलफल भएको छ । यसको लागि कांग्रेसले संसदमा रहेका अन्य दलसँग पनि सरसल्लाह गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित हुनुभएको हो । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पद नेपाली कांग्रेसलाई दिनुपर्ने बिचार राखिसक्नुभएको छ भने अहिले उहाँ त्यसैलाई साकार पार्ने अवसरको खोजीमा रहनुभएको बताइएको छ । अहिले राष्ट्रपति चुनावको मिति समेत नतोकी अलमल भइरहनुको मुख्य कारण पनि यही रहेको बताइएको छ । नेकपा (एमाले) ले राष्ट्रपति पदामा आफ्नो दावी कायमै रहेको बताइसकेको छ ।