परियत्ति परीक्षा दिँदै पाटनका कुमारी

ललितपुर, १० माघ । पाटनकी यल कुमारी यस वर्षको बौद्ध शिक्षा सम्बन्धी परियत्ति कक्षामा सहभागी हुनुभएको छ । गत शनिवार सञ्चालित परियत्ति कक्षाको परीक्षामा उहाँ पनि सम्मिलित हुनुभएको हो ।
उहाँले ललितपुरको भासरा परियत्ति केन्द्रबाट उक्त परीक्षा दिनुभएको हो । तर उहाँ देवीको स्थानमा विराजमान रहनुभएकोले उहाँलाई परीक्षाका लागि अरु विद्यार्थी सरह स्कुलकै कक्षा कोठामा नराखी पाटन गाबहालस्थित उहाँको आफ्नै निवासबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।
पाटनमा हाल सुश्री निहिरा वज्राचार्य कुमारीका रूपमा विराजमान हुनुहुन्छ । उहाँ पाटनकै भासरा स्कुलमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।
स्कुल शिक्षामा कक्षा ५ मा अध्ययनरत रहँदै उहाँ हालै मात्र बौद्ध परियत्ति शिक्षाको कक्षा १ मा भर्ना हुनुभएको थियो । तर परियत्ति शिक्षासम्बन्धि उहाँको कक्षा पनि स्कुलमा हुने गर्दैन । परियत्ति शिक्षाका शिक्षकहरू उहाँको निवासमै गई ट्यूशन जस्तै पढाउने गर्दछन् ।
बौद्ध परियत्ति शिक्षालाई हाल नैतिक शिक्षाका रुपमा नेपालका विभिन्न विद्यालयहरूमा पढाउने गरिन्छ । नेपाल बौद्ध परियत्ति शिक्षा सम्बन्धी बोर्डले पनि विभिन्न विद्यालय र बौद्ध विहारहरूमा यो शिक्षाको कक्षा सञ्चालन गर्दै आइरहेको छ । यो शिक्षा कक्षा १ देखि कक्षा १० सम्म सञ्चालन हुन्छ । १० वर्ष परियत्ति कक्षामा सहभागी भई कक्षा १० उत्तिर्ण गरेपछि परीक्षार्थीलाई ‘सद्धम्म कोविद’ उपाधि प्रदान गरिन्छ ।
यस वर्ष देशभरि करिब ३५०० परीक्षार्थीहरू परियत्ति कक्षाको परीक्षामा सहभागी भएका छन् ।