बानेश्वरमा प्रचण्डको सवारी अगाडि आत्मदाह गर्ने युवाको अवस्था चिन्ताजनक

काठमाडौं, १० माघ । आज दिउँसो नयाँ वानेश्वर चोकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी सामुन्ने नै एक युवकले आत्मदाह गरेका छन् ।

आत्मदाह गर्ने ४० वर्षीय युवा इलाम पञ्चकन्याका प्रेम आचार्य रहेको बुझिएको छ । उनले आत्मदाह गर्नुको कारण थाहा हुन सकेको छैन ।

प्रत्यक्षदर्शीहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड संसद भवनबाट बाहिर निस्किने बित्तिकै प्रधानमन्त्रीको सवारी अगाडि नै उनले आफ्नो शरीरमा आफै पेट्रोल खन्याई आगो लगाएका थिए ।

आफ्नो शरीरमा आगो लगाएपछि उनी त्यहीं उभिइरहेका थिए । प्रत्यक्षदर्शीहरूले बताए अनुसार उनी शरीरमा आगो लगाई उभिइरहँदा पनि सँगै रहेका ट्राफिकहरू भने मूक दर्शक बनेर हेरिरहेका थिए ।

त्यहाँ उपस्थित प्रहरी र ट्राफिकहरू जलिरहेका मानिसको आगो निभाउन भन्दा पनि भीआईपीहरूको सवारी व्यवस्थापनमै खटिरहेका थिए । प्रधानमन्त्री प्रचण्डको सवारी त्यहाँबाट निस्किसकेपछि मात्रै प्रहरीहरू पानी लिएर आगो निभाउन गएका थिए ।

त्यसपछि उनलाई तुरुन्तै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

अस्पताल सूत्रका अनुसार घाइते युवकको शरीर ८० प्रतिशत जलिसकेको छ । अहिले उनलाई चिन्ताजनक अवस्थामा आईसीयु वार्डमा राखी उपचार भइरहेको छ । ८० प्रतिशत शरीर जलिसकेका कारण बचाउन मुस्किल हुने पनि अस्पताल स्रोतले बताएको छ ।