गृहमन्त्रीबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्डको जवाफः बनेपछि थाहा पाउनुहुन्छ

काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सम्पन्न भएको छ । पछिल्लो सयम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेसँगै उहाँले प्राप्त गरेको गृहमन्त्रीको पद र पार्टी सभापतिको पद पनि खुस्किएको थियो । यद्यपि पार्टी सभापतिको पदमा भने नेपाली नागरिकता लिएदै दिन लामिछाने आसिन हुनुभयो । तर, गृहमन्त्रीको पद अहिले पनि प्राप्त भएको छैन ।

नागरिकता विवादमा परेसँगै सांसद पद गुमाउनु भएका उहाँ अहिले सांसद हुनुहुन्न । यस्तो अवस्थामा उहाँले पुनः गृहमन्त्री बन्ने अपेक्षा राख्दै आउनु भएको छ । उहाँको पार्टीले समेत पटक–पटक गृहमन्त्रालयमा रास्वपा बाहेक अरु दलको अधिकार नरहने भन्दै अभिव्यक्ति दिनुले पनि लामिछाने गैर सांसदको हैसियतमा फेरि गृहमन्त्री बन्न चाहनुहुन्छ भन्ने तथ्य छर्लङ छ । तर, त्यसका लागि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक देखिनु भएको छैन ।

लामिछानेको पद गएपछि गृहमन्त्रीको जिम्मेवारी पनि आफैँसग राख्नुभएका प्रचण्ड पछिल्लो समय उहाँकै दल माओवादीबाट पनि गृह छाड्नु नहुने चेपुवामा पर्दै गएको बुझिएको छ । मुख्य गरेर अहिलेको गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने लाइनमा सक्रिय अग्निप्रसाद सापकोटा, जनार्दन शर्मालगायतका नेता यहि बाहनामा गठबन्धन तोड्नेसम्मको रणनीतिमा सक्रिय रहेको बुझिएको छ । एमाले अहिले लामिछानेसँग नरम नीतिमा छ । एमाले महासचिव शंकर पोखरेलले समेत यस्तो अवस्थामा रविलाई एक्लै छाड्न नमिल्ने आसयको अन्तवार्ता दिदैँ लामिछानेसँग नरम नीति एमालेले लिएको संकेत गर्नुभएको छ ।

माओवादी भने यहि अवस्थामा एमालेलाई समेत थप गलाउने र राष्ट्रपतिमा सहज व्यक्ति ल्याउने रणनीतिमा रहेको बुझिएको छ । अहिलेकै अवस्थामा गठबन्धन तोड्नु हुन्न भन्ने मत माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनः लगायतको छ । यो मत माओवादीमा शक्तिशाली मत हो । यद्यपि, प्रचण्डको ‘मुभ’ कहिले कता हुन्छ भन्ने यकिन गर्न नसकिने अवस्थालाई मूल्याङ्कन गर्ने हो भने राष्ट्रपति निर्वाचनसम्म सहज अवस्था देखिएको छैन । अहिले गृहमन्त्रीको खिचडी पनि यसैको एक श्रृंखला बनेको छ ।

आजको माओवादी बैठकमा गृहमन्त्री रास्वपालाई दिने कि आफैँसँग राख्ने भन्ने विषयको निक्र्यौल माओवादीले गर्छ भन्ने चर्चा थियो । यद्यपि, त्यो विषयमा केही छलफल भए पनि आधिकारिक रुपमा भने त्यहाँको छलफलको विषय बाहिर आएको छैन । प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नु भएका कृष्णबहादुर महराले सङ्गठनसम्बन्धी विषयमा छलफल भएको सञचारकर्मीलाई जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा सङ्गठनसम्बन्धी विषयमा छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता महराले जानकारी दिनुभयो ।

उहाँले बैठक पुनः मङ्गलबार बस्ने पनि जानकारी दिनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अझ गज्जब त के भने बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महराले गृहमन्त्रीको विषय सरकारको विषय भएको भनी प्रधानमन्त्रीले मिलाउनुहोला भनेर टारिदिनुभयो । यद्यपि स्थायी समिति बैठकमा त्यसबारेमा छलफल होला नै भनी केही संकेत चाँहि गर्नुभयो । पछिल्लो समय लामिछानेले नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको छ । प्रचण्डबाट सकारात्मक जवाफ लामिछानेले नपाएको बुझिएको छ । आज प्रधानमन्त्री प्रचण्डसँग सञ्चारकर्मीले गृहमन्त्री कस्लाई बनाउनुहुन्छ ? भनेर प्रश्न गर्दा उहाँले ‘बनेपछि थाहा पाउनुहुन्छ ।’ भन्दै छोटो उत्तर दिदैँ उहाँ छलिनुभयो । यसले पनि उहाँ आफ्नै खालको तयारीमा हुनुहुन्छ भन्ने बुझ्न मुस्किल छैन ।