‘हिडौँ साथ साथ’ भन्ने नाराका साथ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे ६७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६७औँ वार्षिकोत्सवका अवसरमा ‘हिडौँ साथ साथ’ भन्ने नाराका साथ पुनः मिलन एब पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानको समुपस्थितिमा आज कार्यक्रम सम्पन्न भएको हो ।

कानुनमन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक सहकुलबहादुर थापाले बेलुनमा बाँधिएको ‘हिडौँ साथ साथ’ लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

निमित्त प्रहरी महानिरीक्षक सहकुलबहादुर थापाले वितगका राम्रा कामलाई अनुशरण गर्दै प्रतिष्ठानको बृहत् क्रियाकलापलाई अझ ऊर्जा प्राप्त होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता क्रियाकलापले अग्रजहरूबाट विचारको आदानप्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा कानुनमन्त्री प्रधान, निमित्त प्रहरी महानिरीक्षक थापासहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्वसमादेशकहरू, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरी अधिकृतहरू, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी एवम् प्रतिष्ठानका कर्मचारीहरूको सहभागिता थियो ।

प्रतिष्ठानबाट आज बिहान सुरु भएको पदयात्रा बालुवाटार, भाटभटेनी, प्रहरी प्रधान कार्यालय नक्साल, गैरीधारा, बालुवाटार हुँदै पुनः प्रतिष्ठानमा पुगेर समापन भएको थियो ।