काठमाडौंकाे गोंगबु, बालाजु क्षेत्र दिनभर तनावग्रस्त, यातायात मजदूरको १० बुँदे माग सम्बोधन नभए गाडी नचलाउने

काठमाडौं, १ फागुन । यातायात मजदूरहरुले भोलि (फागुन २ गते)देखि काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका छन्।

यातायात मजदूर संगठनहरुले सोमबार एक विज्ञप्ति निकाल्दै आफूहरुका १० बुँदे माग सम्बोधन नभएसम्म गाडी नचलाउने घोषणा गरेका हुन्।

गोंगबुस्थित नयाँ बसपार्कमा भेला भएका मजदूरहरुलाई नयाँ बसपार्ककाे कम्पनी लोत्से बहुउदेश्यीय प्रा.लीका महाप्रबन्धक र ठेकेदार कम्पनीलगायतको समूहले आक्रमण गरी घाइते बनाएको विषयलाई लिएर झडप भएकाे थियाे ।

यातायात मजदूरहरूले आक्रमणकारीलाई नियन्त्रण गर्नुको साटो प्रहरीले मजदूरहरुमाथि नै बल प्रयोग गरेको भन्दै मजदूर संगठनहरुले भर्त्सना गरेका छन्।

त्यसक्रममा राजधानीको गोंगबु, बालाजुलगायतको क्षेत्र तनावग्रस्त भएको छ। मजदूरहले प्रहरीका दुई वटा भ्यानमा आगजनीसमेत गरका छन्।

यातायात मजदूर संगठनहरु ट्राफिक नियमविरुद्ध पनि आन्दोलित भएका हुन्। ट्राफिक जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको ट्राफिक लाइसेन्स निलम्बन गरिएको विषयलाई लिएर उनीहरुले विरोध गरेका छन्।

तीन यातयात मजदूर संगठनले संयुक्त विज्ञप्ति जारी गरी भोलिदेखि सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न आह्वान गरेका छन्। जसमा नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघ रहेकाे छ ।