अनेरास्ववियुको बन्दशत्र जारी, पूर्व अध्यक्षहरुसहित ९ जनाको अध्यक्ष मण्डल
काठमाडौं, ३ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ महाधिवेशनको बन्दशस्त्र शुरु भएको छ । एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको हो ।
अध्यक्ष मण्डलमा अनेरास्ववियुका पूर्व अध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बरालसँगै जनसंगठन समन्वय संयन्त्रका उपप्रमुख रचना खड्का र अनेरास्ववियुका पूर्व नेता विनोद ढकाल हुनुहुन्छ ।
अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । ‘निः शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित हिजोबाट सुरु भएको अखिलको २३ औँ राष्ट्रिय महाधिवेशन लामो समयदेखि हुन सकिरहेको थिएन । २२ औँ महाधिवेशनपछि २ अध्यक्ष फेरिए पनि महाधिवेशन भने हुन सकेको थिएन ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसक्नु भएको छ । १०८० प्रतिनिधिको सहभागितमा काठमाडौँमा जारी महाधिवेशन नयाँ नेतृत्व चयनसँगै भोलिसम्म जारी रहने छ । सकेसम्म सर्वसहमतिमा र नभए निर्वाचन प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्ने तयारी अध्यक्ष मण्डलले गरेको छ ।
अहिले मुख्य गरेर अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोति विक, झपिन्द्र खत्री, लोकेश निरौला, वाङ्चु योञ्जनलगायतले दाबी गरेका छन् । महासचिवमा नरेश रोकाया, सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नारायण घर्ती, कल्पना वाइवा, धर्म गिरीलगायतको दाबी छ ।