टर्की–सिरिया भूकम्प

ऐतिहासिक सम्पदास्थलहरूमा पुर्याएको क्षति

काठमाडौं, फागुन ४ । गत हप्ता टर्की र सिरियामा गएको ठूलो भूकम्पले दुवै देशका थुप्रै ऐतिहासिक सम्पदाहरू पनि ध्वस्त बनाइदिएको छ ।

संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोले जनाए अनुसार दक्षिणपूर्वी टर्कीको दियारबकिर किल्ला र हाभ्सेल सांस्कृतिक उद्यान जस्ता सम्पदा क्षेत्रमा रहेका धेरै भवनहरू भूकम्पमा ढलेका छन् ।

दुवै देशहरूमा अहिले मानवीय उद्धारका कार्यहरू प्राथमिकताका साथ सञ्चालन भइरहेका कारण सम्पदा क्षेत्रमा भएको क्षतिबारे विस्तृत अध्ययन हुन पाएको छैन । अहिले राज्यले त्यतातिर ध्यानै दिन सकिरहेको छैन ।

सम्पदा र संस्कृतिबारे सरोकार राख्ने राष्ट्र संघीय निकाय युनेस्कोले गरेको प्रारम्भिक अवलोकन अनुसार टर्की र सिरियाको यो भूकम्प त्यस्तो महत्वपूर्ण बाटुलो वस्तीमा हुन गएको छ जहाँ पृथ्वीकै सबैभन्दा पूरानो मानव बसोवास अविछिन्न रुपमा बस्दै आएको छ । यही कारण यसलाई पृथ्वीकै सबैभन्दा ‘उब्जाउ घुम्ती’ भनिन्छ ।

अहिले क्षतिग्रस्त भएको दियारबकिर किल्ला र हाभ्सेल सांस्कृतिक उद्यान टर्कीमा शासन गरेका रोमन, सस्सानिद, बाइजेन्टाइ, इस्लाम र ओट्टोमनकालकै प्रमुख केन्द्र रहँदै आएको छ । दियारबकिर किल्ला बाहिर ठड्याइएको ५.८ किलोमिटर लामो नगर पर्खाल चीनको ग्रेट वाल जतिकै लोकप्रिय पर्यटकीय गन्तव्य हो । यो किल्लाको निर्माण आजभन्दा दुई हजार वर्ष अघि भएको मानिन्छ ।

युनेस्कोले हालै एक वक्तव्य जारी गर्दै टर्की र सिरियाको भूकम्पग्रस्त क्षेत्रका स्थानीय संघ संस्थाहरूसँग मिलेर सम्पदास्थलहरूमा भएका क्षतिबारे अध्ययन गर्ने तयारी गरिरहेको बताएको छ ।

विश्व सम्पदास्थलमै रहेको गाजियान्टेप चर्च पनि क्षतिग्रस्त भएको बताइएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको यो सम्पदालाई घेरेर राखिएको रिटेनिङ वाल भत्केर भग्नावेशषहरू चारैतिर छरिएका छन् ।

त्यस्तै सिरियामा पनि प्राचीन नगर एलेप्पोमा रहेको १३ औं शताब्दीमा निर्मित एक किल्लामा ठूलो क्षति पुगेको छ । यो किल्लाको केही भागमा त्यहाँ चलिरहेको गृहयुद्धले क्षति गरेको थियो भने बाँकी बचेको भागलाई पनि भूकम्पले ध्वस्त बनाइदिएको छ ।

तै पनि टर्कीको दक्षिणपूर्वी भूभागमा रहेको गोबेक्ली टेपे भन्ने पुरातात्विक क्षेत्रमा भने कुनै क्षति नभएको बताइएको छ । आजभन्दा ११ हजार ५०० वर्ष अघि निर्माण गरिएको यो ढुंगैढुंगाको संरचनालाई मानव इतिहासकै सबैभन्दा पुरानो धार्मिकस्थल मानिन्छ ।

टर्कीको जर्मुस पहाडी क्षेत्रमा रहेको यो सम्पदास्थल अहिले गएको भूकम्पको इपिसेन्टरभन्दा ८६ किलोमिटर टाढा छ । यति ठूलो भूकम्प जाँदा पनि यो ऐतिहासिक सम्पदामा कुनै क्षति नपुग्नुलाई ‘द गोबेक्ली टेपे रिसर्च प्रोजेक्ट’ ले सन्तोषको विषय भनेको छ ।

त्यस्तै टर्कीको सांस्कृतिक सम्पत्ति एवं संग्रहालयहरूको निर्देशनालयले पनि भूकम्पले टर्कीका कुनै पनि संग्रहालयमा रहेका पुरातात्विक वस्तुहरूमा क्षति पुग्ने वा लुटपाट हुने जस्ता कार्य नभएको जनाएको छ ।

टर्की र सिरियामा गत साता गएको भूकम्पमा परी अहिलेसम्म ३५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।