शिवरात्रिका दिन काठमाडौंमा सिलाचःर्हे मनाइँदै

काठमाडौं, ६ फागुन । आज महाशिवरात्रिका दिन देशभर भगवान शङ्करको विशेष पूजाआजा गर्दै मनाइरहेको छ । शिवरात्रि पर्वलाई काठमाडौंमा भने फरक ढंगले मनाउने परम्परा रहँदै आएको छ ।
शिवरात्रिका राति देशभर पूजापाठ र जाग्राम बसी पर्व मान्ने गरिए पनि काठमाडौंका स्थानीयवासीको शिवरात्रि मान्ने परम्परा भन्ने आफ्नै खालको छ । काठमाडौंवासीहरू यो पर्वलाई ‘सिलाचः¥हे’ का नामले मनाउँछन् । नेवाः क्यालेण्डरको सिला महिनामा आउने चतुर्दशी भएकोले यसलाई सिलाचः¥हे भनिएको हो ।
आजको दिन काठमाडौंका टोल टोलमा बालबालिकाहरूले बाटो छेकेर बटुवाहरुसँग जगाः (दान) माग्ने गर्छन् । बेलुकी शिवलिङ्ग वा कुनै देवीदेवताको मन्दिर सामुन्ने आगो बाल्ने गर्छन् । बिहान उठाइएको जगाःबाट आवश्यक सामग्री खरिद गरी त्यही आगोमा हलुवा, स्वारी, तरकारी आदि पकाएर प्रसादका रुपमा ग्रहण गर्छन् ।
कहीं कहीं भने त्यस्तो प्रसादमा भाङ मिसाएर बनाइएको लड्डु पनि ख्वाउने गरिन्छ ।
आजका दिन महादेवलाई जाडो हुने भएकोले जिउ तताउन आगो बालिने विश्वास गरिन्छ । यसको लागि बेलुकी घर घरमा गई केटाकेटीहरूले दाउरा माग्न जाने पनि चलन छ ।
दाउरा माग्न जाँदा स्थानीय नेपालभाषामा ‘गणेद्यःया लुमुल, महाद्यःया चिकुल, सिँ निका तिति’ भन्दै लय मिलाएर भट्याउँदै जाने चलन छ ।
यसको अर्थ ‘गणेशलाई न्यानो भयो, महादेवलाई जाडो भयो, दाउरा दुई फ्याक पाउँ है’ भनिएको हो ।
धेरै पहिले एक ताका काठमाडौंका केही छुल्याहाहरुले यसरी दाउरा माग्न जाँदा मानिसको घर घरमा जतन गरी राखिएका काठ दाउरा चोर्नुका साथै ढोकाको खापा र काठको भर्याङ समेत उठाएर ल्याउने विकृति बढ्न थालेको थियो । पछि त्यसलाई नियन्त्रण गरियो ।
सिलाचः¥हेका दिन वा त्यसको भोलिपल्ट काठमाडौंमा क्षणिक भए पनि वर्षा हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।