कर्णालीबाट योगेश भट्टराईको उद्घोष– पुस १० को सहमतिमा कुनै फेरबदल हुँदैन

सुर्खेत, ६ फागनु । नेकपा (एमाले)ले हिजोबाट शुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानका लागि एमालेका अधिकांश पदाधिकारीहरु जिम्मेवारी प्राप्त गरेको क्षेत्रमा पुग्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो पार्टी केन्द्रीय कार्यालयबाट सात प्रदेश र राजधानीमा आयोजित विशेष कमिटीको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गरेपछि अभियान सुरु भएको हो ।
‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि एमालेले प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई खटाएको छ ।
त्यसैगरी मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई जिम्मा दिएको छ । त्यस्तै बाग्मती प्रदेशमा उपाध्क्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्यहरु काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई जिम्मेवारी दिएको छ ।
गण्डकी प्रदेश उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमा कुमारी अर्याल, स्थायी कमिटी सदस्यहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा हुनुहुन्छ । लुम्बिनी प्रदेश उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई हुनुहुन्छ । कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, स्थायी कमिटी सदस्यहरु यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यहरु मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा हुनुहुन्छ ।
विशेष कमिटी र केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी हुनुहुन्छ । यसै सिलसिलामा सचिव योगेश भट्टराई आफ्नो कार्य क्षेत्र कर्णाली पुगिसक्नु भएको छ भने अन्य नेताहरु पनि करिब कार्यक्षेत्रमा पुगेका छन् । कर्णालीमा अभियानको शुरुवातसँगै पत्रकार सम्मेलनको समेत आयोजना भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख विष्णु रिजालसहितको टोली अहिले कार्णलीमा छ । अभियानबारे जानकारी दिने उदेश्यले प्रेस चौतारी कर्णाली प्रदेश समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा बोल्दै सचिव भट्टराईले वर्तमान गठबन्धन नटुट्ने भन्दै एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने बताउनुभयो ।
उहाँले सत्ता गठबन्धन भत्काउन विदेशी शक्ति लागेको आरोप लगाउँदै अहिलेको गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको उल्लेख गर्नुभयो । ‘नेपाली माटोबाटै उत्पादन भएको यो गठबन्धनमा कुनै रासायनिक मल राखेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं।’ अहिले गठबन्धन भत्काउन लाग्नेहरु एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड मिल्दा मस्त निन्द्रामा रहेको भन्दै अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लाग्नुको कुनै औचित्य नभएको दाबी गर्नुभयो । प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्तावसहित गठबन्धन निर्माण भएको भन्दै राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डकै भएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नहुने बताउनुभयो ।
‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन भित्र रहेका दलहरूको साझा उम्मेदवार हुने छ।’ उहाँले अबको दुई महिना पार्टीको ठूलो समूह ‘मिसन ग्रासरुट’ अभियानमा सक्रिए हुने भन्दै उहाँले यो अभियान हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने अभियान भएको बताउनुभयो । ‘अहिलेले अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागेका छौँ ।’