जोखिममा महिला मानव अधिकार, ‘२०२३’मा ४ हजार २ सय २८ महिला पिडित

काठमाडौं ७ फागुन । सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल ७ हजार ३ सय ७६ घटनामध्ये महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।

इन्सेकको आज आयोजित समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सार्वजनिक गर्नुभएको उक्त पुस्तकमा महिलाविरुद्धको हिंसामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा एक हजार छ सय २३ घटना भएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नौ सय ५६, प्रदेश १ मा चार सय ५७, बागमती प्रदेशमा चार सय ३४, गण्डकी प्रदेशमा तीन सय ३७, कर्णाली प्रदेशमा दुई सय ११ र मधेस प्रदेशमा दुई सय १० वटा घटना भएको देखिएको छ ।

त्यसमध्ये मानव बेचखिनको प्रयासका घटनामा २४, घरेलु हिंसाका घटना तीन हजार ३१, बोक्सीको आरोपमा २३, बलात्कारका घटनामा पाँच सय पाँच, बलात्कार प्रयास एक सय ४५, यौन दुव्र्यवहार एक सय ४५ र बेचबिखनका घटनामा २४ महिला पीडित भएका छन् । यस वर्ष पारिवारिक हत्याका घटनामा एक सय ११ महिला मारिएका छन् भने भनेजति दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या भएको छ ।

यस्तै दोस्रोमा बाल अधिकारविरुद्धका एक हजार चार सय ५३, कुटपिटका चार सय ४८, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारसम्बन्धीका चार सय पाँच, हत्याका तीन सय ३२ र घाइतेका दुई सय ५६ घटना भएका छन् । त्यस्तै गिरफ्तारका ८१, कारागारका ५३, अपहरणका ३५, धम्कीका २७, अमानवीय व्यवहारका २५, जातीय विभेदका २२, यातनाका पाँच, हिरासतमा मृत्युका चार र बेपत्ताका दुई घटना भएका छन् ।

सन् १९८८ देखि मानव अधिकार तथा सामाजिक न्यायका लागि कार्यरत इन्सेक संस्थाको सात प्रदेश कार्यालय तथा ७७ जिल्लाका प्रतिनिधिमार्फत इन्सेकका नियमित कार्यक्रम तथा परियोजना सञ्चालन भइरहेका छन् । मानव अधिकार उल्लङ्घनका घटनालाई अध्ययन अनुगमन गर्नका लागि यसले देशका ७७ जिल्लामा प्रतिनिधिको व्यवस्था गरेको छ ।

इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले भन्नुभयो, “विस्तृत शान्ति सम्झौताको १६ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्, हिंसापीडित न्यायबाट वञ्चित नै रहे पीडकलाई जवाफदेही बनाउने वा पीडितले विधिसम्मतरूपमा क्षमादान दिने इच्छा व्यक्त गरेको अवस्थामा जवाफदेही बनाउने सम्भावित प्रक्रियाका विषयमा सार्वजनिक छलफल भए पनि सार्थक परिणाम निस्किएको छैन ।”

सङ्क्रमणकालीन न्याय निरुपणका लागि गठन गरिएको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग अहिले पदाधिकारीविहीन अवस्थामा छन् ।

“सङ्क्रमणकालीन न्याय निरुपणका लागि सरकार र तत्कालीन माओवादी विद्रोहीका उत्तराधिकारी शक्तिले यस सम्बन्धमा राजनीतिक दृढता नै प्रदर्शन गरे न्याय र परिपूरणका माध्यमले शान्ति प्रक्रियालाई पूरा गरिएन”, इन्सेकको ३१औँ वर्ष पुस्तकको बारेमा कुरा गर्दै अध्यक्ष डा अर्यालले भन्नुभयो, “लोकतन्त्रका खम्बाका रूपमा स्थापित हुनुपर्ने राज्यका सवैधानिक तथा अन्य महत्वपूर्ण निकाय कमजोर बन्दै गए र संस्थागत सुधारको मार्ग प्रशस्त हुन सकेन ।”

नेपालले अन्तर्राष्ट्रिय मञ्चमार्फत गरेका प्रतिबद्धता, सन्धि र महासन्धिमा हस्ताक्षर गरी जनाएको ऐक्यबद्धता र नेपालको संविधानले निर्दिष्ट गरेका मानव अधिकारका मूल्य र मान्यतालाई इन्सेकले प्रलेख तथा पैरवीमार्फत थप सुदृढ गराउन भूमिका खेलिरहेको छ । नेपालको न्यायालयको आन्तरिक विवाद र विग्रह मूलतः सत्ता स्वार्थप्रेरित खिचातानीका कारण उत्कर्षमा गरेको र परिणामस्वरूपः न्यायालयप्रति जनआस्था निराशाजनक ढङ्गले प्रभावित बन्न पुगेको उहाँको ठहर छ ।

सशस्त्रद्वन्द्वको अन्त्य गर्न २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवाल आजसम्म पनि सम्बोधन भएनन् । शान्तिपूर्ण समाज स्थापनाको लक्ष्य पूरा भएको छैन । द्वन्द्वपीडितको न्याय निरूपण, परिपूरण, न्याय तथा संस्थागत सुधारमार्फत द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुपर्ने दायित्व जस्ताको तस्तै रहेको वर्ष पुस्तकमा उल्लेख छ ।

मानव अधिकार अवस्थाको समग्र अभिलेखको खाँचो भएकाले वर्ष पुस्तकलगायतका अवधारणालाई सन् १९९२ देखि सुरुआत गरिएको हो । इन्सेकले प्रत्येक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।