प्रतिनिधिको मृत्युपछि नेकोसको महाधिवेशन आज दिनभरी स्थगन, सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास

काठमाडौं, ८ फागुत माघ । नेपाल खेलकुद महासंघ (नेकोस) को दोस्रो महाधिवेशन फागुनको हिजोदेखि विराटनगरमा शुरु भएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिजो उद्घाटन गरेपछि महाधिवेशन शुरु भएको हो । पहिलो निर्वाचन २०६६ मंसिरमा भएको थियो ।
पहिलो निर्वाचनबाट अध्यक्ष बन्नुभएका पुरुषोतम पौडेल खेलकुद मन्त्री हुँदै अहिले एमालेको केन्द्रीय कमिटीमा हुनुहुन्छ । त्यसपछि महासंघको निर्वाचन हुन सकेको थिएन । पहिलो निर्वाचन भएको करीब १३ वर्षपछि उक्त महासंघको दोस्रो महाधिवेशन आज दिनभरीका लागि स्थगन गरेको नेकोसका नेता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
प्रतिनिधि बनेर आउनु भएका प्रकाश महतको आइतबार राती करीब साढे ११ बजे दुर्घटनामा परी मृत्यु भएपछि महासंघले उहाँको निधनमा शोक मनाउँदै आज दिनभरीका लागि महाधिवेशन स्थगन गरेको छ,’ उहाँले भन्नुभयो, ‘हामी आजबाट तीन बजेपछि बन्दशत्र शुरु गर्ने तयारीमा छौँ । बन्दशत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ । छलफलपछि प्रतिवेदन पाससँगै अरु प्रक्रिया अघि बढाउँछौँ ।’
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षीय महत सवार लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।
महतको मृत्युपछि महाधिवेशन नरोके पनि महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको बैठक कम्तिमा ११ दिन नबस्ने, राजनीतिक कार्यक्रम नगर्ने र सपथ पनि नलिने तयारी भएको कटुवालले जानकारी दिनुभयो । ‘हामी अहिले हाम्रो महाधिवेशनमा आउनु भएका प्रतिनिधिको निधनका कारण शोकमा छौँ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा हामी सकेसम्म सहज वातावरणमा निर्वाचन सम्पन्न गर्ने र निर्वाचनपछि आएको नयाँ नेतृत्वले पनि उहाँको शोकमा कम्तिमा ११ दिन बैठक नबस्ने, राजनीतिक कार्यक्रम नगर्ने र सपथ पनि नलिने तयारीमा छौँ ।’
करीब १३ वर्षपछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने छ । पहिलो महाधिवेशनबाट अध्यक्ष बन्नुभएका पौडेल केन्द्रीय सदस्य बनेपछि २०७८ माघ २३ गते पर्शुराम बस्नेत तेस्रो अध्यक्ष बन्नुभयो । बस्नेत पनि गत मंसिर ४ को निर्वाचनमा प्रदेश सांसदको उम्मेदवार बन्नुभयो तर पराजित हुनुभयो । यो १३ वर्षको अवधीमा महासंघले तीन वटा नेतृत्व पाए पनि भर्खर दोस्रो महाधिवेशन हुँदैछ ।
पार्टीका खेल नीतिलाई लागु गर्ने उदेश्यका साथ स्थापना भएको यो महासंघले दोस्रो महाधिवेशनको संघारमा एकीकृत खेल नीति बनाउने, अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसारको खेल मैदानका लागि पहल गर्ने, खेलाडीहरुका लागि आवस गृह निर्माण गर्ने, खेल संघहरुलाई व्यवस्थित गर्ने जस्ता महत्वपूर्ण एजेण्डासहित अघि बढेको छ ।
दोस्रो महाधिवेशन सकेसम्म सर्वसम्मत गर्ने तयारीमा नेताहरु लागेका छन् । यद्यपि, अहिले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बस्नेतसँगै, उपेन्द्र पौडेल, उपाध्यक्ष प्रभातविक्रम कटुवाल, भीम ओली, ओम प्रसाईँ, चेतनराज गिरी, निरेशलाल श्रेष्ठ, चेतनराज गिरीगायतले पनि दाबी गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा नन्दा बस्याल, थलुराज भण्डारी, धर्म श्रेष्ठ, रामकृष्ण खड्का, सञ्जु महर्जनलगायतको चर्चा छ । महाचिवमा उमेस केसीलगायतको चर्चा छ । १७ पदाधिकारी रहने नेतृत्वमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र बाँकी सचिव रहने व्यवस्था गर्ने तयारी छ । १ सय ५१ सदस्यी केन्द्रीय कमिट बनाउने तयारी भएको महासंघमा १७ पदाधिकारी रहने एक नेताले जानकारी दिनुभयो ।