राष्ट्रपति चुनावमा भारतको अस्वाभाविक रुचिः पठाउन थाले उम्मेदवारका नामहरू

काठमाडौं, ८ माघ । नेपालमा हुने कुनै पनि राजनीतिक परिवर्तन र सरकार परिवर्तनका बेला सक्रिय भइहाल्ने दक्षिणी छिमेकी देश भारत यस पटक नेपालमा हुन लागेको राष्ट्रपति परिवर्तनको प्रक्रियामा पनि हस्तक्षेपकारी ढंगले सक्रिय हुन लागेको संकेत देखिन थालेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित गर्ने भन्ने प्रस्ताव अघि सारेपछि राष्ट्रपतिका सवालमा नेकपा (एमाले) र माओवादी केन्द्र बीचको सम्बन्ध चिसिन पुगेको छ । दुई पार्टीहरुका सम्बन्धमा आएको यही अन्यौलको फाइदा उठाउँदै भारतले अहिले आफ्ना तर्फबाट पनि राष्ट्रपतिका उम्मेदवार प्रस्तावित गर्न थालेको हो ।

यस क्रममा अहिले भर्खरै भारतमा नेपालविद् भनी चिनिएका डा. एस.डी. मुनिले नेपालको राष्ट्रपतिमा उपयुक्त भनी चार जना मानिसको नाम प्रस्तावित गर्नुभएको छ । त्यसमा उहाँले पूर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, पूर्व राजदूत प्रा. लोकराज बराल, पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालाको नाम अगाडि सार्नुभएको छ ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी हुनु जायज हो भन्दै उहाँले यी चार जना मानिसको नाम ट्विट मार्फत प्रस्तावित गर्नुभएको हो ।

अहिले राष्ट्रपतिका रुपमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम पनि चर्चामा रहेको छ । तर प्रा. मुनिले डा. भट्टराईको नाम भने उल्लेख गर्नुभएको छैन । डा. भट्टराई भारतमा अध्ययनरत रहनुहुँदा डा. मुनि उहाँका गुरु हुनुहुन्थ्यो । उहाँहरू बीच समय समयमा भेटघाट पनि हुने गर्दथे भने डा. मुनि पनि नेपाल आउँदा डा. भट्टराई नभेटी फर्कनुहुन्नथ्यो ।

तर अहिले डा. मुनिले राष्ट्रपतिका लागि सिफारिस गर्नुभएको चार नामहरूमा डा. भट्टराईको नाम भने राखिएको छैन ।

यो भन्दा अघि नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि प्रमुख पार्टीका शिर्षस्थ नेताहरूसँग गर्नुभएको भेटवार्तामा राष्ट्रपति चुनावकै प्रशंग राख्नुभएको बुझिएको छ ।

विदेश सचिव क्वात्रा प्रधानमन्त्री पुष्प कमल दाहालयात भारत भ्रमणको निम्तो दिन आएको भन्ने ठानिएको थियो । तर भारतीय सेनाको विशेष वायुयानबाट नेपाल आउनुभएका उहाँले प्रम दाहाललाई त्यस्तो कुनै निम्तो भने दिनुभएन । बरु नेपालमा हुन लागेको राष्ट्रपति चुनावमा चासो राख्नुभएको बताइन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउने प्रतिवद्धता जनाएको भए पनि अहिले भने पूर्व प्रतिवद्धतामा कायम नरही ‘राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति छान्ने’ भन्ने नयाँ प्रस्ताव ल्याएपछि भारतले त्यसैलाई समर्थन जनाएको संकेत दिएको छ ।

प्रा.डा. मुनिलाई नेपाल मामिलामा भारतको संस्थापन पक्षको विचार प्रकट गर्ने बुद्धिजीवीका रुपमा लिने गरिन्छ ।