सत्ता गठबन्धन दुईमहीना मै भत्किने प्रायः निश्चित

११ फागुन, काठमाडौं । नेकपा (एमाले) सहितका दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आज ठिक दुई महिना भएको छ । पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
त्यहि सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । तर, त्यसैदिन एमालेले राष्ट्रपति पाउने भनी गरेको सहमति अहिले मुख्य गरेर प्रधानमन्त्री प्रचण्डका कारण अप्ठ्यारोमा परेको छ ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीले अडान लिएपछि सत्ता गठबन्धनमा विवाद आएको थियो। तर, ओलीले आफैले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउनेगरी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वा सुभाष नेम्वागं दुई मध्ये एक जसमा सहमती हुन्छ उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।
बालकोटमा पुस १० गते सहमति गर्ने सबै दल एमालेले प्रस्ताव गरेकालाई राष्ट्रपति दिनुपर्ने अडानमा छन् भने प्रचण्ड एक्लै त्यो सहमतिलाई लत्याएर कहिले बुढानिलकण्ठ त कहिले कोटेश्वरको दौडधुपमा लाग्नु भएको छ । उनको लक्ष्यनै नेकपा(एमाले)लाई फेरि एकल्लो बनाउने र पुरानै गठबन्धन व्यँुताउने बुझिएको छ ।
यसै सन्दर्भमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नु दुई दिन अघि बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल सुरु भएको हो।
बैठकमा कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरु बालुवाटार पुगेका थिए।
बुधबार कांग्रेस नेताहरु बालुवाटार जानुअघि नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए।
हिजैकै बैठकहरुलाई निरन्तरता दिंदै राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।
प्रचण्डको कुण्ठाको राजनीतिले गर्दा आज साँझ बस्ने बैठकले फेरि एकपटक पुरानो गठबन्धन व्युँताउनेमा नेपाली कांगेस लगायतका पुराना गठबन्धनका दलहरु सहमती हुने देखिन्छ । यदी यसो भयो भने राष्ट्रपतिको बिषयमा नेकपा(एमाले)को प्रस्तावलाई प्रचण्डले नमान्ने अनि सहमति तोड्ने देखिन्छ । जसले गर्दा अहिलेको सत्ता गठबन्धन दुईमहीनै मै भत्किने प्रायः निश्चित छ।