मतदाता नामावलीमा चौधरी छुटिएको र कोइरीलाई राखिएकोमा विरोध

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनका लागि पर्सी फागुन १३ गते मनोनयन दर्ता गर्ने दुई दिन अघि आज मतदाता नामावलीमा विवाद भएको छ । नामावलीमा कुनै मतदाताको नाम समावेश गरिएकोमा विवाद भएको छ भने कुनै मतदातालाई छुटाएकोमा विरोध भएको छ ।
मतदाता नामावलीबारे उजुरी हाल्ने अन्तिम दिन आज दिउँसो १२ बजेसम्म तोकिएको छ । आज अन्तिम दिन मतदाता नामावलीमाथि पाँच वटा उजुरी परिसकेको छ ।
मतदाता नामावलीमा कैलालीका सांसद अरुणकुमार चौधरीको नाम समावेश नगरिएकोमा विरोध भएको छ भने फरार भनिएका सांसद लक्ष्मी महतो कोइरीको नाम समावेश गरिएकोमा असन्तुष्टि प्रकट भएको छ ।
कैलाली—२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा नरहेका कारण उहाँको नाम समावेश गर्न निवेदन परेको छ । त्यस्तै नाम सच्याउने विषयमा अर्को चार वटा निवेदन परेको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता भएको छैन ।
प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अपराह्न १२ बजे राष्ट्रपतिको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन् ।
त्यस्तै प्रतिनिधिसभाका एमाले सांसद लक्ष्मी महतो कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएकोमा असन्तुष्टि प्रकट गरिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीको सूचीमा १३०१९७२४ मतदाता नम्बर रहेका कोइरीको परिचयपत्रसमेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ । उहाँ अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा चुनाव जितेका र हाल सम्पर्कमा नरहेका कोइरी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सभामुखलाई भोट हाल्न संसद बैठकमा उपस्थित हुनुभएको थियो । तर, संसदमा उहाँको उपस्थितिलाई लिएर केही सांसदहरुले प्रश्न उठाएपछि सरकारले उहाँलाई पक्रन निर्देशन दिएको थियो । त्यसपछि उहाँ सम्पर्कमा आउनुभएको छैन ।
कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ । अभियोग बोकेरै जसपा परित्याग गरी एमाले प्रवेश गरेका उहाँ महोत्तरी क्षेत्र १ बाट जितेर निर्वाचित हुनुभएको थियो ।