राष्ट्रपति छनौटका लागि आज पनि दिनभरि माधव नेपालको सक्रियता

काठमाडौं, ११ फागुन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि पर्सी मनोनयन दर्ता गर्ने दिन भइसकेको छ, तर उम्मेदवार को को हुन् भन्ने बारे भने आजसम्म कुनै टुंगो लागिसकेको छैन । उम्मेदवार टुंग्याउन राजनीतिक दलहरूका बीच आज पनि सघन रुपमा छलफल चलि नै रहेको छ ।

राष्ट्रपति निर्वाचनका लागि हिजोबाट भने सबैभन्दा बढी छलफलमा सक्रिय हुने नेतामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल देखिनुभएको छ । हिजोदेखि बढ्न थालेको उहाँको सक्रियता आज पनि जारी नै छ ।

हिजो बेलुकादेखि माधव नेपालले भावी राष्ट्रपतिका रुपमा आफैलाई प्रस्तावित गर्न थाल्नुभएको छ । यस अघि नेकपा (एस) ले माधव नेपाल वा झलनाथ खनाल मध्ये एक जनालाई राष्ट्रपतिका लागि अघि सार्ने निर्णय गरेको थियो ।

नेता नेपालले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर यसै विषयमा कुरा चलाउनुभएको छ । आजको बैठकमा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र नेकपा (एस) का तर्फबाट घनश्याम भुषाल पनि सहभागी हुनुभएको थियो ।

तर छलफलमा सहभागी हुनुभएका दुवै नेताले राष्ट्रपति उम्मेदवारको टुंगो अझै लागेको छैन भन्ने नै प्रतिक्रिया दिनुभएको छ । छलफल पछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अब १३ गते नै उम्मेदवार टुंगो लाग्नेछ ।

नेता नेपाल हिजो पछि निदभरि नै जसो भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । यस क्रममा हिजो उहाँलाई नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सङले पनि भेट्नुभएको थियो ।

यही राष्ट्रपति निर्वाचनकै छेक पारेर नेपालका लागि नयाँ चिनियाँ राजदूत पनि निक्कै सक्रिय हुन थाल्नुभएको छ । खास गरी भारतीय पक्षले विभिन्न माध्यम मार्फत फलानालाई राष्ट्रपति बनाउनु उचित हुन्छ भनी नाम समेत प्रस्तावित गर्न थाले पछि चिनियाँ राजदूत पनि सक्रिय हुन थालेको बताइन्छ ।

आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता पछि माधव नेपालले आजै जसपासँग पनि वार्ता गर्ने तयारी गरेको छ । जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ ।

त्यस्तै आजै कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि नेता नेपालले वार्ता गर्ने समय मिलाइएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसको पनि दावी रहँदै आएको छ । त्यसैले नेपालले कांग्रेसको पनि समर्थन प्राप्त गर्ने प्रयास गरिरहनुभएको छ ।

नेपाललाई नेकपा (एमाले) ले समर्थन गर्ने जनाइसकेको छ । अब उहाँले कांग्रेस र माओवादी मध्ये एकको समर्थन लिनुपर्ने हुन्छ ।