केपी ओलीको जन्मदिनमा ओलीसँग ५ घण्टा १३ तस्बिर

काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिसं २००८ साल फागुन ११ गते दिउँसो २ बजे तेह्रथुम जिल्लाको आठराईमा जन्मिनु भएको हो । दुई पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका ओली आजबाट ७१ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गर्नुभएको छ । पछिल्लो समय मुलुकको राजनीतिमा सर्वाधिक शक्तिशाली नेताका रुपमा परिचित ओली अन्य नेताहरु भन्दा बढी व्यस्त हुनुहुन्छ ।
अझ पछिल्लो सयम उहाँको व्यस्थता थप बढेको छ । दुई दिनपछि राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन भएकाले पनि उहाँलाई राजनीतिक भेटघाटले व्यस्त बनाएको छ । यहि व्यस्त समयका बिच पनि आज उहाँको जन्मदिनले थप व्यस्त बनायो । आज बिहान ९ बजे ओली निवास बालकोट पुग्दा उहाँलाई जन्मदिनको शुभकामना दिनेको भिडभाड निकै थियो ।
ओलीको जन्मदिनकै अवसर पारेर ओलीको निजी निवासको प्राङ्गणमा औपचारिक कार्यक्रमसमेत राखिएको थियो । ओली निवासमै प्रेस चौतारी नेपालकी सचिव लोग्शरी कुँबर र सञ्जय खडकाले संकलन तथा सम्पादन गरेको समवेत दृष्टि नामक पुस्तक र नेपाल बंगलादेश बुद्धिष्ट रिलेशन नामक पुस्तक पनि विमोचन गरिएको थियो । कार्यक्रममा ओलीका बुबा मोहनप्रसाद ओली, धर्मपत्नी राधिका शाक्य, पूर्व राजदूत डाक्टर अञ्जान शाक्य, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममै बिचमा पनि उहाँलाई शुभकामना दिन सयौँ कार्यकर्ता र शुभेच्छुकहरुको लाइन लागेका थिए । औपचारिक कार्यक्रममा उहाँले केही मन्तव्य राख्नुभयो ।
मन्तव्यका सिलसिलामा उहाँले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णय गलत भएको टिप्पणी गर्नुभयो । करीब २ घण्टाजति कार्यक्रममा सहभागी भएपछि पत्नी शाक्यले पटक–पटक आग्रह गरेपछि उहाँ खानाका लागि तयार हुनुभयो । त्यसपछि फेरि केहीबेर उहाँ प्राङ्गणमै उहाँलाई शुभकामना दिन सहभागीहरुका बिचमा आउनुभयो । त्यसपछि एमाले मुख्यालय पुग्नु भएका ओलीलाई त्यहाँ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताले स्वागत गर्नुभयो र उहाँलाई जन्मदिनको शुभकामना दिनुभयो ।
त्यसपछि युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन जाने सिलसिलामा कार्यकक्षबाट बाहिर निस्किनु भएका ओली फेरि कार्यकक्षमै फर्किनुभयो । उहाँ कार्यकक्षमा फर्किएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतलाई उहाँले लड्डु खुवाउनु भयो । त्यसपछि केहीबेर राजनीतिक भेटघाटमा व्यस्त बन्नुभएका ओली त्यसपछि भने केपी ओली कप अवलोकनका लागि सातदोवाटोतर्फ लाग्नुभयो । त्यतिबेलासम्म झण्डै दिउँसोको २ बजेको थियो ।
तस्बिरः ओलीको सचिवालय