आफैँले सम्झौता गरेको मोनो रेल विर्सिएका मेयर चिरिबाबु राज्यका लागि बोझ बन्ने मेट्रो रेलको रटनमा

काठमाडौं, फागुन १२ । पछिल्लो समय ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लगातार मेट्रो रेलको विषयलाई अनावश्यक चर्चामा ल्याउने गर्नुभएको छ । गत मंसिर २९ गते काठमाडौं महानगरपालिकाले आयोजना गरेको २८ औँ काठमाडौं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमा मेयर महर्जनले मेट्रो रेलको विकल्प नभएको भन्दै काठमाडौंका मेयर बालेन्द्र साहलाई उपत्यकामा त्यसको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा पनि त्यहि कुरा उल्लेख गर्नुभएको थियो । त्यतिबेला उहाँले मेट्रो रेलको परियोजना निकै महंगो भएको स्वीकार गर्दै काठमाडौं उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रो रेल आवश्यक भएको दाबी गर्नुभएको थियो ।
यी दुई सन्दर्भपछि केही महिना चुपचाप बस्नु भएका मेयर महर्जन फेरि मेट्रो रेलको अनावश्यक चर्चामा लाग्नु भएको छ । केही महिना अघि सार्वजनिक कार्यक्रममा उद्घोष गरेको चर्चालाई पछिल्लो समय मेयर महर्जनले फेरि चर्चामा ल्याउनु भएको हो । शुक्रबार मेयर साहलाई पत्र लेखेरै महर्जनले मेट्रो रेलको परियोजनाबारे चासो राखेपछि यो विषयले थप चर्चामा आएको छ ।
मेयर महर्जनले धेरै खर्चिलो र समय पनि धेरै लाग्ने भए पनि त्यसबारे निर्णय लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले संघीय सरकारसँग सहकार्य गरेर काठमाडौं महानगरले मेट्रो रेलका लागि नेतृत्व लिनुपर्ने भन्दै ललितपुर महानगर सहयात्री बन्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
झट्ट सुन्दा मेयर महर्जनका यो चर्चा सकारात्मक जस्तै देखिन्छ । तर, उहाँ आफैले धेरै खर्चिलो र समय पनि धेरै लाग्ने भनिएको मेट्रो रेल सञ्चालन गर्ने कुरा पनि त्यति सहज छैन । कम खर्चमै सम्पन हुने मोनो रेलबारे आफैँले सम्झौता गर्नुभएका मेयर महर्जन अहिले त्यो आयोजनाबारे बेखवर जस्तै हुनुहुन्छ । तर, पछिल्लो समय राज्यले समेत आँट गर्न नसक्ने परियोजनाको चर्चा गरेर सस्तो लोकप्रियता कमाउने ध्याउन्नमा उहाँ लाग्नु भएको छ ।
सन् २०१२ मा साउथ काोरियाको एक कम्पनीले काठमाडौँमा मेट्रो रेल सञ्चालन गर्ने सन्दर्भमा फिजिबिलिटी अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार पारेको थियो । उक्त अध्ययनले पाँच लाइनमा कतै भूमिगत त कतै सतहमा मेट्रो सञ्चालन गर्न करीब ३ खर्ब लागत लाग्ने देखाएको थियो । सन् २०१२ मै यति धेरै लगानी लाग्ने भनेपछि सरकार त्यति महंगो परियोजना अघि बढाउन हच्केपछि उक्त कम्पनी पनि पछि हटेको थियो ।
त्यसपछिका सरकारले पनि त्यति महंगो परियोजना अघि बढाउने हिम्मत नगरेपछि नेपालको सन्दर्भमा करीब असंभव भनिएको त्यहि परियोजना झण्डै ११ वर्षपछि चर्चामा आएको छ । मेयर महर्जनले त्यो विषयलाई चर्चामा ल्याएपछि यसको विभिन्न कोणबाट चर्चा सुरु भएको छ । यस क्षेत्रका विज्ञहरुले राज्यले समेत आँट गर्न नसकेको परियोजनालाई स्थानीय तहले विना योजना चर्चामा ल्याएर सस्तो लोकप्रियताको प्रयास गरेको भनी आलोचना गरेका छन् ।
‘यति महंगो परियोजना त्यो पनि स्थानीय तहले विना योजना चर्चामा ल्याउनु भनेको सस्तो लोकप्रियता बाहेक केही होइन,’ एक विज्ञले भन्नुभयो, ‘मुलुक अहिले कठिन अवस्थाबाट गुज्रिरहेको छ । यस्तो बेलामा यस्तो महंगो परियोजनाको चर्चा गर्नु भनेको सस्तो लोकप्रियता बाहेक केही होइन । यो परियोजना हचुवाका भरमा अघि बढाउनु भनेको राज्यलाई टाट पल्टाउने र श्रीलंका बनाउने प्रयास बाहेक केही हुँदैन ।’
अर्थतन्त्रका सूचकहरु त्यति राम्रो नरहेको यो अवस्थामा काठमाडौँमा मेट्रो रेलमा लगानी गर्नु भनेको देशको अर्थ व्यवस्था नै डामाडोल बनाउनु हो भन्दै सो क्षेत्रका विज्ञहरुले आलोचना गरेका छन् । ‘काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला विद्यासुन्दर शाक्यका पालामा काठमाडौंको चक्रपथमा मोनो रेल गुडाउने योजनासहित ललितपुर महानगरको समेत सहकार्यमा एक चिनियाँ कम्पनीसँग सम्झौता गरी प्रारम्भिक अध्ययन भएको थियो,’ सो क्षेत्रका विज्ञले भन्नुभयो, ‘सोही कम्पनीले २०७५ साल पुस ४ मा डीपीआरको जिम्मा पाएर काम गरेको थियो । बरु अहिलेको अवस्थामा त्यो आयोजनालाई अघि बढाउन सकिन्छ ।’
कोरोना महामारी, चक्रपथ विस्तारलगायतका कारणले रोकिएको त्यो परियोजना अघि बढाउने हो भने संभव हुने उहाँको सुझाव छ । ‘काठमाडौंमा कम खर्चमै त्यो परियोजना अघि बढाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘आफैले सम्झौता गरेर अघि बढाएको र विविध कारणले रोकिएको त्यो आयोजना अघि बढाउने तर्फ ध्यान नदिएर मेयर महर्जनले सस्तो लोकप्रियताका लागि मेट्रोको चर्चा गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यो हचुवाका भरमा सस्तो लोकप्रियताका लागि गरिएको चर्चा मात्रै हो । यो अहिले संभव नै छैन ।’