नेपालको आन्तरिक विवाद विश्व जगतले थाहा पाउने भयोः हिरण्यलाल श्रेष्ठ

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री विमला पौड्याललाई जेनेभा जानबाट रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बदनाम हुने विचार परराष्ट्रविद्हरूले व्यक्त गरेका छन् ।
वरिष्ठ परराष्ट्रविद् एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमणलाई यसरी अन्तिम समयमा आएर रोक्ने प्रधानमन्त्रीको कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई थप बदनाम गर्ने बताउनुभएको छ ।
मैत्री न्यूजसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक समीकरण नेपालको आन्तरिक मामिला हो । तर त्यसैलाई बहाना बनाएर परराष्ट्र मन्त्रीको भ्रमण रोक्ने कार्यले नेपालको आन्तरिक मामिला पनि अन्तर्राष्ट्रियकरण भएको छ ।’
परराष्ट्र मन्त्री पौड्यालको हिजो हुन लागेको जेनेभा भ्रमण नेपालको लागि अत्यन्त महत्वपूर्ण भएकोले त्यसलाई रोक्न नहुने विचार पनि उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘नेपाललाई अल्प विकसित मुलुकको स्थानबाट उक्लेर विकसित मुलुकको तहमा राख्ने प्रस्ताव मन्त्री पौड्यालले जेनेभामा प्रस्तुत गर्नेवाला थियो । यसको लागि नेपालले धेरै वर्ष अघिदेखि प्रयास पनि गरिरहेको हो । अब सम्बन्धित ठाउँमा प्रस्तावै राख्ने बेला मन्त्रीलाई रोके पछि हाम्रो त्यो प्रस्ताव पनि खेर जाने भयो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो परराष्ट्रमन्त्री विमला पौड्यालको जेनेभा भ्रमणलाई अन्तिम समयमा आएर रोक्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि मन्त्री पौड्याल हिजो जेनेभा जाने तयारीमा हुनुहुन्थ्यो । तर हिजै अकस्मात प्रधानमन्त्रीले उक्त भ्रमण रोक्नुभएको हो ।
विमानस्थल जानै लाग्नुभएका परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले रोक्नुभएको थियो । हिजो बिहानसम्म जाने भनेर तयारी गर्नुभएका मन्त्री पौड्यालले साँझ अचानक प्रधानमन्त्रीले नजानु भन्ने खबर पठाएपछि भ्रमण रद्द गर्नुभएको थियो ।
आफ्नो जेनेभा भ्रमणको क्रममा मन्त्री पौडेलले नेपालको राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ श्रेणीमै कायम राख्ने पहल गर्ने योजना थियो । मानवअधिकारवादी संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जालले नेपालको मानवअधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।
अहिले परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द गर्नाले मानव अधिकार जस्तो संवेदनशील विषयमा नेपाल गम्भीर नभएको भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह हुने विचार पनि परराष्ट्रविद् श्रेष्ठले राख्नुभएको छ ।