अस्पताल भर्ना हुनुभएका रक्षामन्त्रीले अस्पतालबाटै हस्ताक्षर गरेर राजीनामा बुझाउँदै

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का तर्फबाट मन्त्री बनेका सबै जनाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

एमालेको आज बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले सामूहिक राजीनामा दिन लागेका हुन् ।

स्वास्थ्य मन्त्री पदम गिरीले अब केही बेरमै सामूहिक राजीनामा बुझाउने तयारी भएको जानकारी दिनुभयो । ‘रक्षामन्त्री हरि प्रसाद उप्रेतीज्यु अहिले विरामी भएर अस्पतालमा हुनुहुन्छ,’ गिरीले भन्नुभयो, ‘अहिले म अस्पतालमै छु ।

उहाँको हस्ताक्षरपछि हामी सामुहिक राजीनामा दिदैँछौँ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री अहिलेको सरकारमा सहभागी हुनुहुन्छ ।