नेपाली कांग्रेसका सांसद एवं पूर्व श्रम मन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर भएको थियो ।

२०७५ माघ १२ गते उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।

तत्कालीन महिला वालवालिका तथा समाजकल्याण मन्त्री गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । विशेष अदालतले ९ जनालाई दोषी ठहर गरेको हो । मुद्दा विचाराधीन रहेकै बेला गत मंसिर ४ गते भएको निर्वाचनमा उम्मेदवार बनेका गुरुङ मनाङबाट निर्वाचित भएका थिए । उनी हाल निलम्बित अवस्थामा छन् । संयुक्त इजलासले पूर्वमन्त्री तथा हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता बद्री प्रसाद न्यौपानेलाई पनि दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सन्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

टेकबहादुर गूरुङ सो भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका छन् भने तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, बलवहादुर स्वार, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका छन् । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।