प्रदेश एकले ‘सरप्राइज’ रुपमा प्रदेशको नाम दिदैँ, ठूला दल ‘कोशी प्रदेश’मा सहमत

विराटनगर, १७ फागुन । प्रदेश नम्बर एकले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गरेको छ । नामकरणको विषयमा आलोचना खेप्दै आएको उक्त प्रदेशले ‘सरप्राइज’ रूपमा नामकरणको प्रक्रिया सुरु गरेसँगै नामकरणको विषयले प्रदेशसभामा आजै प्रवेश पाउने भएको हो । केही समयदेखिको निरन्तर दलहरुका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामाकरणको विषय प्रवेश गराउने तयारी भएको थियो ।

छलफल र बैठकमा सहभागी नेताहरूले जो–जो छलफल बसेको हो सूचना नचुहाउने सहमति सहित विषयलाई गोप्य राखिएको हो । कुनै नाटकीय परिवर्तन नभए आज रातीसम्म भएपनि नाम टुंगिने छ । नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य साथै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको उपस्तिथिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको बुझिएको छ । एमाले, कांग्रेस र माओवादीले अन्तिमसम्ममा कोशी प्रदेशमा सहमति गर्न सक्ने बुझिएको छ । यो नाममा एमाले र कांग्रेस सहमति भए पनि माओवादी भने पहिचानका आधारमा राख्नुपर्नेमा थियो । माओवादी पनि अन्तिममा सहमति हुने बुझिएको छ ।

एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएको प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाउनु भएको थियो । उहाँले कोसी हुनुपर्ने लबिङ बढाउँदै आउनु भएको थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी समेसम्म दलहरुबीच सहमति गरेर आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल गर्ने बताउनुहुन्छ । ‘आज दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक छ,’ उहाँले भन्नुभयो, ‘बैठकमा सहमति जुटे आज नामको प्रस्ताव टेबल हुन्छ ।’