यू-१९ विश्वकप एसिया छनोट अन्तरगत नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं, १८ फागुन। आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गतकाे अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ ।

यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

अब नेपालले यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा यूएईसंग १९१ रन डिफेण्ड गर्नुपर्नेछ ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

ओपनर दिपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट भए । अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए ।

कप्तान देवले नेपालका लागि सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए ।

छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए । हेमन्त धामीले १३ रन जोडे । सुबास भण्डारी २ रनमा आउट भए । दिपेश कँडेल १५ रन बनाए ।

यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए । हर्सिथ सेठ र अमर बदामीले समान १ विकेट लिए । नेपाल र यूएईले यसअघिका सबै चार खेल जितेको थियो । यस खेलको विजेता अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।